दाङ। दाङ भ्याली मावि तुलसीपुरले सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा आइतबार विद्यालयमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र शाहीले विद्यार्थीलाई सडक वारपार गर्दा अपनाउनुपर्ने सतर्कता, जेब्रा क्रसिङको प्रयोग, सडकमा सुरक्षित हिँडडुल गर्ने तरिकाबारे जानकारी गराउनुभयो ।
उहाँले गाडीमा यात्रा गर्दा शरीरका कुनै पनि अंग बाहिर ननिकाल्न आग्रह गर्नुभयो । यस्तै उमेर नपुगी वा चालक अनुमति पत्र (लाइसेन्स) नभएकाले सवारी साधन नचलाउन पनि सचेत गराउनुभयो । उहाँले विभिन्न ट्राफिक संकेतबारे विद्यार्थीलाई जानकारी गराउनुभएको हो ।
विद्यालयका अध्यक्ष तिलक शाहुले विद्यालयस्तरमै ट्राफिक प्रहरी आएर विद्यार्थीलाई प्रत्यक्ष रूपमा जानकारी दिँदा विद्यार्थीमा सचेतना पुगेको बताउनुभयो । विद्यार्थीहरू सडकमा हिँड्दा वा यात्रा गर्दा धेरै कुरा बेवास्ता गर्छन् । यसले दुर्घटनाको जोखिम बढाउँछ । त्यसैले पनि यस्ता कार्यक्रमले उनीहरूलाई सुरक्षित बन्न प्रेरणा दिएको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिला अर्यालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीसंगै शिक्षक, विद्यालयका बस चालक लगायतको उपस्थित रहेको थियो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले विभिन्न विद्यालयमा पुगेर यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सडक सुरक्षाबारे सचेत नागरिक निर्माण गर्न विद्यार्थी अवस्थाबाटै ट्राफिक शिक्षाको अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दाङ भ्याली इको क्लब र दाङ भ्याली मावि तुलसीपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।















