२०८२ चैत्र १ गते आइतवार

दोस्रो वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

दाङ । एचआर मिडिया हाउस प्रालिले संचालन गरेको ईगल खबर डट कमले दोस्रो वार्षिकोत्सवको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

प्रालिले मंगलबार तुलसीपुर–३ कल्ले राम्रीकोटमा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी र सिसाकलम शैक्षिक सामग्री वितरण गरेको हो ।

प्रालिले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने गरेको छ । यसवर्ष पनि प्रावि कल्ले राम्रीकोटका ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको प्रालिका अध्यक्ष एच आर मगरले जानकारी दिनुभयो ।

विद्यार्थीको शैक्षिक सिकाईमा सहजता ल्याउनका लागि बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । ‘प्रालि स्थापना भएको दुई वर्ष पुगेको छ । हामीले प्रत्येक वर्ष ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो–‘यसवर्ष पनि सातबासमा रहेको प्रावि कल्ले राम्रीकोटका ३० जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छौँ ।’

ग्लोबल ओरेन्स नेपाल तुलसीपुर वितरण केन्द्रको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको हो ।

त्यस अवसरमा संघका अध्यक्ष बिनिल केसीले प्रालिले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नु निकै सकारात्मक पक्ष रहेको बताउँदै यसले बालबालिकाको सिकाईमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । ‘हामीले आम्दानिको केहि अंश समाजका लागि लगानी गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘एचआर मिडिया हाउवले पनि बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरेको छ ।’

कार्यक्रममा तुलसीपुर–३ का वडा सदस्य राजेन्द्र कुमार गुरुङ, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले पत्रकारिता पेशा आफैमा सामाजिक काम भएको बताउँदै ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि एचआर मिडिया हाउसले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण प्रालिका संचालक सदस्य शान्तराम सेञ्चुरीले गर्नुभएको हो । प्रालिले दोस्रो वार्षिकोत्सवको अवसरमा आउँदो शानिबार तुलसीपुरस्थित मेट्रो दरबारमा दोस्रो वार्षिकोत्सव विषेश कार्यक्रमको आयोजना समेत गर्ने अध्यक्ष एचआर मगरले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस