२०८२ फाल्गुन २६ गते मङ्गलवार

विद्यालय बन्द गरेर शिक्षक तीजको दरखान हिडेपछि….


दाङ । बिहिबार दिउँसोको करिब २ बजेको छ । विद्यालय सुनसान छ । कक्षा कोठाहरु खुल्ला छन् । विद्यालयको गेट खुल्ला छ । तर विद्यालयमा कोहि पनि छैनन् ।

विद्यार्थी घर गइसकेका छन् । शिक्षक पनि विद्यालयमा छैनन् । शिक्षक विद्यालयमा हुने कुरा पनि भएन । किनकी शिक्षकहरु तुलसीपुरको एक होटेलमा तीजको दर खाने कार्यक्रममा व्यस्त थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको माध्यमिक विद्यालय दोघरेमा बिहिबार (आज) दिउँसो यस्तो दृश्य देखिएको हो ।

बिहिबार दिउँसो विद्यालय समयमै विद्यालयका प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षक कर्मचारी तीजको दर खान हिडेपछि मावि दोघरे दिउँसै सुनसान बनेको थियो ।

विद्यार्थी पनि दिउँसै घर गएका थिए । विद्यालयका शिक्षकहरु दिउँसो १ बजेपछि दर बजार खान हिडेपछि विद्यार्थीहरु घरतिर गएका हुन् । विद्यालयमा विद्यार्थी नभएपनि कक्षा कोठा र विद्यालयको गेट भने खुल्लै राखिएको थियो ।

तर विद्यालयमा पत्रकार पुगेको थाहा पाएपछि करिब १० मिनेटमै शिक्षकहरु दर खान छोडेर विद्यालय परिसरमा पुगेका थिए । विद्यालय सूचना अधिकारी मेघराज पोखरेलले बिहिबार (आज) विद्यालयमै तीज विषेश कार्यक्रम गरिएको र विद्यार्थीलाई घर पठाएर बजार तीजको दर खान भन्दा पनि नास्ता खान गएको बताउनुभयो । ‘विद्यालयको नयाँ भवनमा कार्यक्रम राखिएको थियो, विद्यार्थीको नृत्य प्रतियोगिता पनि थियो ।’ उहाँले भन्नुभयो–‘त्यो कार्यक्रम सकेर हामी बजार गएका हौँ ।’

तर सूचना अधिकारी पोखरेलले नृत्य प्रतियोगिता राखेको बताएपनि त्यो नृत्य प्रतियोगिता थिएन । किनभने नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयको नतिजा हुनुपर्ने तर कोहि पनि विद्यार्थी प्रथम, द्वितीय नै नभएको सूचना अधिकारी पोखरेल आफैले स्विकार गर्नुभयो ।

विद्यालयको कार्यक्रम बहानामात्रै थियो । विद्यार्थीलाई केहि समय साँस्कृतिक कार्यक्रममा सहभागी बनाएर शिक्षकहरु भने बजारमा दर कार्यक्रममा गएका हुन् ।

विद्यालयका प्रधानाध्यापक सुनिता यादवले विद्यार्थीसंगको तीज कार्यक्रमपछि डिलाइट होटेलमा शिक्षक स्टाप नास्ता खान गएको बताउनुभयो । ‘विद्यालयको नयाँ भवनमा तीज विषेश कार्यक्रम गरेका थियौँ ।’ उहाँले भन्नुभयो–‘विद्यार्थी घर गएपछि हामी शिक्षकहरु नास्ता खान बजार निस्केका हौँ ।’ विद्यालयमा तीज विषेश कार्यक्रम भएको बारेमा पनि विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी थिएन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गिरीले विद्यालयले बिहिबार (आज) कार्यक्रम राखिएकोबारे आफुलाई कुनै जानकारी नरहेको बताउनुभयो । ‘हिजो बुधबार एउटा बैठक थियो, तर मैले विद्यालयमा तीज विषेश कार्यक्रम भएको कुनै जानकारी नै पाएन ।’ उहाँले भन्नुभयो–‘मलाई अरु साथीहरुले पनि विद्यालय बन्द छ, तपाईलाई जानकारी छ कि नै भनेर खबर गर्नुभएको थियो, तर मलाई केहि जानकारी थिएन ।’

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले कुनै जानकारी बिनै विद्यार्थीको पढाईलाई प्रभावित गरेर तीज विषेश कार्यक्रम गर्नु उचित नभएको बताउनुभयो । ‘आज तीज विषेश कार्यक्रम कुनै सन्दर्भ पनि मिलेको छैन् ।’ उहाँले भन्नुभयो–‘शुक्रबारसम्म ठिकै हो, आज त केहि सन्दर्भ नै मिलेको छैन् ।’

तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकालले विद्यालय समयमा तीजको दर खाने कार्यक्रम राखिनु उचित नभएको बताउनुभयो । ‘तीजको दर खाने पनि एउटा समय होला, निर्णय गर्नुपर्ला, समन्वय र जानकारी त गर्नुपर्ने हो ।’ उहाँले भन्नुभयो–‘विद्यालय समयमा विद्यार्थीलाई घर पठाएर शिक्षकले तीजको दर खाने कत्ति सुहाएन ।’

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस