बैंकक, थाइल्यान्ड । डिभाइन एजुकेशन फाउन्डेसनको टोलीले युनिभर्सिटी अफ द थाई चेम्बर अफ कमर्स, बैंककस्थित स्कुल अफ इकोनोमिक्सका शैक्षिक मामिला उपडिन डा. बारुत सामार्टसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
फाउन्डेसनका संस्थापक तथा सीईओ भोजराज न्यौपानेको नेतृत्वमा भएको भेटघाटमा फाउन्डेसनका एमडी ओमप्रकाश न्यौपाने, भाइस प्रिन्सिपल महेश लामिछाने, कोअर्डिनेटर आकाश सिंहलगायतको सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक सहकार्य, नवीनतम शिक्षण पद्धति तथा नेपाल–थाइल्यान्डबीच शैक्षिक र सांस्कृतिक आदानप्रदानका सम्भावनाबारे छलफल गरिएको थियो ।
डा. सामार्टले शिक्षा क्षेत्रमा सहकार्य, अनुभव आदानप्रदान तथा विद्यार्थी र शिक्षकबीच अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्त्वबारे चर्चा गर्नुभएको छ ।
फाउन्डेसनका सीईओ भोजराज न्यौपानेले नेपाली शिक्षा क्षेत्रमा भइरहेका अभ्यास, प्रगतिशील शिक्षण पद्धति तथा आगामी दिनमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राख्नुभयो ।
त्यस्तै, कोअर्डिनेटर आकाश सिंहले अहिलेको समय सूचना प्रविधिको भएकाले प्रविधिको सदुपयोग गर्दै डिभाइनका विद्यार्थीलाई थाइल्यान्डका कक्षासँग जोड्न सकिने बताउनुभयो ।
भेटघाटले नेपाल र थाइल्यान्डबीच शिक्षा तथा संस्कृतिका क्षेत्रमा आपसी समझदारी, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ सम्भावना उजागर गर्ने विश्वास गरिएको छ ।

























