२०८३ असोज २ गते शुक्रवार

स्थलगत अध्ययनका लागि फुलबारी जलाशयमा पुगे हाम्रो पहुँचका विद्यार्थीहरु


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरूले तुलसीपुर–१३ मा रहेको फुलबारी जलाशयको स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् ।

स्थानीय पाठ्यपुस्तकमा समेटिएका विषयवस्तुलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यले कक्षा ७ का विद्यार्थीहरूलाई आज शुक्रबार फिल्डमै लगेर जलाशयको अध्ययन तथा अवलोकन गराइएको विद्यालयले जनाएको छ ।

विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीहरूको चौतर्फी विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । शिक्षकहरू हरि खनाल, एकराज भण्डारी र सपना अधिकारीको नेतृत्वमा गएका विद्यार्थीहरूले फुलबारी जलाशयको क्षेत्र, यसको महत्व तथा आसपासका प्राकृतिक र पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् ।

विद्यार्थीहरूलाई फिल्डमै लगेर अध्ययन गराउँदा कक्षाकोठाको पढाइभन्दा अझ प्रभावकारी रूपमा विषयवस्तु बुझ्न सहयोग पुग्ने शिक्षक हरि खनालले बताउनुभयो । प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँदा विद्यार्थीहरूले पाठ्यपुस्तकमा पढेका विषयलाई व्यवहारिक रूपमा बुझ्ने अवसर पाएको उहाँको भनाइ छ ।

स्थलगत अध्ययनमा सहभागी विद्यार्थीहरू पनि उत्साहित देखिएका थिए । कक्षाकोठामा पढेका विषयलाई सम्बन्धित स्थानमै पुगेर अवलोकन गर्न पाउँदा धेरै नयाँ कुरा सिक्न पाएको उनीहरूले बताएका छन् ।

अवलोकनका क्रममा विद्यार्थीहरूले तुलसीपुर–१३ का वडा अध्यक्ष मोहनलाल पौडेलसँग जलाशयको अवस्था, यसको महत्व, पर्यटकीय सम्भावना तथा वडाको समग्र अवस्थाबारे विभिन्न प्रश्नसमेत गरेका थिए ।

वडा अध्यक्ष पौडेलले विद्यार्थीहरूलाई वडा नम्बर १३ मा रहेका जलाशय तथा अन्य पर्यटकीय क्षेत्रबारे जानकारी गराउनुर्भको हो । वडामा चारवटा जलाशय रहेको र फुलबारी जलाशय पछिल्लो समय प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिचित बन्दै बताउनुभयो । जलाशय अवलोकनका लागि विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेको उहाँले उहाँको भनाई छ ।

उहाँले वडामा जन्ती ढुङ्गा, फुलबारी ढुङ्गेपाटनलगायतका पर्यटकीय स्थल रहेको जानकारी गराउँदै वन क्षेत्रले घेरिएको वडामा १५ वटा सामुदायिक वन र करिब ८ हजार जनसंख्या रहेको जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामध्ये वडा नम्बर १३ भौगोलिक रूपमा विकट रहेको तथा वडामा दलित र जनजाति समुदायको बसोबास बढी रहेको जानकारी पनि उहाँले विद्यार्थीहरूलाई गराउनुभयो । साथै वडामा करिब ४ हजार ७ सय मतदाता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस