दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरसंगको समन्वयमा उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी गरिएको हो ।
सडकआश्रित मानवमुक्त घोषणाका लागि अहिले सडकपेटीमा बसोबास गर्ने मानवलाई उद्धार अभियान, सरोकारवालासंग छलफल, समन्वयको काम भइरहेको छ ।
अभियान अन्तर्गत शनिबार राती पनि तुलसीपुर उपमहानगरपालिका, मानवसेवा आश्रम, ईलाका प्रहरी कार्यालय तुलसीपुर, विभिन्न सरोकारवाला व्यक्तिको समन्वयमा तुलसीपुर बजारबाट एक जना सडक आश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनुभयो ।
अभियानलाई प्रभावकारी बनाउनका लागि सबै नागरिकको साथ र सहयोगको आवश्यक रहेको उहाँले बताउनुभयो । ‘सडकमा कोही नबसुन््, सबैलाई सुरक्षित आवास होस्’ भन्ने लक्ष्यसहित सडक मानवमुक्त पालिका घोषणा गर्ने तयारी गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । नगरप्रमुख खड्काका अनुसार भदौ २८ गते सडक मानवमुक्त पालिका घोषणा गर्ने तयारी छ ।
सोहि अनुसार अहिले सडकमा बस्दै आएका बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूलाई उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएको छ । उपमहानगरपालिकाले विभिन्न सामाजिक संस्थाहरू, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य गरिरहेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो ।
सडकमा आश्रय लिई जीवन निर्वाह गरिरहेका व्यक्तिहरूलाई उद्धार गर्ने, उनिहरुको विवरण संकलन गर्ने, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र तत्काल आवासका लागि मानव सेवा आश्रममा लैजाने गरिएको उहाँले बताउनुभयो ।















