२०८२ फाल्गुन २६ गते मङ्गलवार

‘बालबालिकाको सुनौलो भविष्य निर्माणमा परिवार र समाजको भूमिका’

दाङ, १९ भदौ । बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि परिवार र समाजको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ सिम्रा गाउँ टोलमा बिहिबार गरिएको कार्यक्रममा भोलिको सुन्दर परिवार र सभ्य समाज निर्माणका लागि आजका बालबालिकालाई नैतिकवान, संस्कारयुक्त बनाउनुपर्नेमा सरोकारवालाको जोड छ ।

दाङ भ्याली मावि तुलसीपुरसंगको सहकार्यमा रेडियो हाम्रो पहुँचले उत्पादन गर्ने कार्यक्रम सुनौलो भविष्यमा सरोकारवालाले बालबालिकालाई असल र नैतिकवान बनाउनका लागि घर परिवार र समाजमा असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले घर परिवार र समाजलाई देखेर बालबालिकाको बानि व्यवहार, चाल चलन निर्माण हुने भएकाले उनिहरुको सुन्दर भविष्य निर्माणका लागि घरपरिवार र समाज जिम्मेवार रहेको बताउनुभयो ।

उहाँले बालबालिकामा पछिल्लो समय सामाजिक संजालको अत्याधिक प्रयोगले एक्लोपन बढ्दै गएको भन्दै अभिभावकले बालबालिकाका लागि पर्याप्त समय दिनुपर्ने र बालबालिकालाई सामाजिक बनाउनका लागि विभिन्न सामुहिक क्रियाकलपमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

यस्तै बालबालिकालाई टोलका निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा टोल विकास संस्थाका उपाध्यक्ष दिलिप बिकले बालबालिकाका लागि छिट्टै खेलकुदमा सहभागी गराउनका लागि खेलमैदान र खेलकुदका सामग्रीको व्यवस्थापन गरिने बताउनुभयो ।

यस्तै सचिव चित्रलाल जैसीले बालबालिकालाई खाना खुवाउँदा मोबाइल दिने प्रचलन बढ्दै गएकाले यसले बालबालिकाको वृद्धि विकासका असर गर्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस