२०८३ बैशाख १८ गते शुक्रवार

दशैमा नाचिने सखिया नाच बारे खोज–अनुसन्धान हुनुपर्नेमा जोड


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ जबरपुरमा रहेको नमुना भ्युह्याँर थान र थारु कल्याणकारीणी सभा क्षेत्र नंम्बर ३ को संयुक्त आयोजनामा बडा दशैँको शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ ।

आज बुधबार एक कार्यक्रमको आयोजना गरी दशैँको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको “बर्का दश्या” र दशैँमा नाचिने “सखिया नाच” पछिल्लो समय ओझेलमा पर्दै गएकोले यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भ्युह्यार थानका अध्यक्ष रामशरण चौधरीले बताउनुभयो ।

थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर थारुले थारु समुदाय पछि परेमा थारु आदिवासीको पहिचान नै गुम्न सक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले थारु भाषा जबसम्म रहन्छ तबसम्म मात्रै थारुहरुकोे पहिचान रहने बताउनुभयो । थारु भाषा, कला र संस्कृतिको पुस्तान्तरण आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले भाषा, कला, संस्कृति संरक्षणमा जोड दिँदै दशैँमा नाचिने सखिया नाचबारे खोज–अनुसन्धान हुनुपर्ने बताएका थिए । थारु समुदायलाई संविधानमा सम्बोधन गरिएको भए पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको गुनासो पनि व्यक्त गरेका थिए ।

थारु अगुवाहरु श्रमलाल चौधरी, छोटीलाल थारु, सुन्दर चौधरी, जगधनी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा थारु समुदायमा दशैँको अवसरमा प्रस्तुत गरिने सखिया नाच, बर्किमार, सह्मरौती गीतलगायतका प्रस्तुति देखाइएको थियो । साथै भाषाविद् रोहित चौधरीले थारु समुदायमा दशैँ पर्वको महत्व, मनाउने विधि र कारणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

थारु कल्याणकारी सभा क्षेत्र नंम्बर ३ का अध्यक्ष मोहन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नमुना भ्युह्याँर थानका उपाध्यक्ष नारायण चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस