दाङ, २५ कार्तिक । दाङसहित देशका अधिकांश ठाउँमा चिसो विस्तारै बढ्दै गएको छ । दिउँसोको तुलनामा साँझ र बिहानको समयमा बढी चिसो हुने गरेको छ । तराईमा बिहानको समयमा हुस्सु लाग्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङको अधिकतम र न्यूनतम तापक्रम पनि घट्न थालेको छ ।
दाङमा आइतबार अधिकतम तापक्रम २७ दशमलव ४ डिग्री सेल्सीयस रहेको थियो भने सोमबार अधिकतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सीयसमा झरेको थियो ।
यस्तै न्यूनतम तापक्रम पनि ओरालो लागेको छ । आइतबार दाङमा १३ दशमलव ४ डिग्री सेल्सीयस मापन गरिएको न्यूनतम तापक्रम सोमबार १२ दशमलव ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।
दाङको न्यूनतम तापक्रम १२ देखि १३ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ । विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतिले न्यानो लुगा लगाउन र चिसोबाट जोगिन आग्रह गर्नुभएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा छ । आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।














