२०८२ फाल्गुन २६ गते मङ्गलवार

रोल्पामा पाँच सय लिटर जाँड बरामद

दाङ, १५ मंसिर । रोल्पामा प्रहरीले अबैध घरेलु मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणको कच्चा पदार्थ नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार सुनिल स्मृति गाउँपालिका–१, सल्लीपिपलस्थित श्रीधर कँवरको घरमा अबैध रुपमा लुकाइ–छिपाइ राखिएको कच्चा पदार्थ (जाँड) रहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको हो ।

इकाई प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी बरिष्ठ हवलदार खड्क बहादुर गिरीको कमाण्डमा २ जना तथा तालुक इकाई प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाको कमाण्डमा २ जनाको संयुक्त टोलीले उक्त घरमा खानतलासी गरेको हो ।

खानतलासीका क्रममा घर अगाडिको आँगनमा ९ वटा ड्रममा लुकाइ राखिएको घरेलु मदिरा उत्पादनका लागि चामलबाट तयार पारिएको करिब ५०० लिटर जाँड फेला परेको प्रहरीले रोल्पा जनाएको छ ।

फेला परेको पदार्थ स्थानीय जनप्रतिनिधिको रोहबरमा दिउँसो साढे १ बजेतिर नष्ट गरिएको छ । अवैध मदिरा नियन्त्रण अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने रोल्पा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस