२०८२ चैत्र ३ गते मङ्गलवार

रबि लामिछानेमाथि प्रतिशोध साँधिएको हो : वाग्ले

दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रबि लामिछानेमाथि प्रतिशोध साँधिएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरले शनिबार आयोजना गरेको तुलसीपुर नगर भेलालाई सम्बोधन गर्दै रास्वपाले गरेका काम र बढ्दो जनसमर्थनका कारण पुराना राजनीतिक दलहरू डराएको बताउनुभयो ।

उहाँले रास्वपा वैकल्पीक शक्ति बन्ने डरका कारण लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको बताउनुभयो । उपसभापति वाग्लेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछानेले ‘घण्टी’ चिन्हबाट देशभर करिब १२ लाख मत प्राप्त गरेको उल्लेख गर्दै त्यसकै बलमा २१ जना सांसद संसदमा पुगेको बताउनुभयो ।

पढेलेखेका देश–विदेशको अनुभव भएका युवा सांसदहरूले गहिरो अध्ययन र अनुसन्धानका आधारमा मन्त्रीहरूलाई प्रश्न गर्ने, जनताका मुद्दा संसदमा उठाउने र सरकारलाई जवाफदेही बनाउने नयाँ राजनीतिक संस्कार र अभ्यास रास्वपाले स्थापित गरेको वाग्लेले दाबी गर्नुभयो ।

उपसभापति वाग्लेले आफू पनि नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ अमेरिकाबाट स्वदेश फर्किएको बताउनुभयो । पार्टीको कामसँगै आगामी १५ वर्षमा नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उहाँको भनाइ छ । हाल देशको आर्थिक विकासमा कुन–कुन नीतिले बाधा पुर्‍याइरहेका छन् भन्ने विषयमा गम्भीर चिन्तन र समीक्षा गर्नुपर्ने समय आएको वाग्लेले बताउनुभयो ।

यस्तै पाटीका प्रवक्ता मनिष झाले रास्वपाको जनलहरको नतिजा फागुन २१ पछि देखिने दावि गर्नुभयो । उहाँले रास्वपा उचाइमा पुगेपनि अरु पाटीकोजस्तो दम्ब नदेखाउने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा नागरिकले मत दान नभएर मतमा लगानी गर्ने बताउनुभयो ।

पार्टी सचिवालय सदस्य गणेश पराजुलीले अब नागरिकले मत परिवर्तन गर्ने हिम्मत गर्नुपर्ने बताउनुभयो । बहुमत ल्याउन नसके परिवर्तन ल्याउन नसकिने र फेरि पुरानै राजनैतिक शक्तिले कब्जा जमाउने बताउनुभयो । उहाँले कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पङ, गोपि हमाल लगायतलाई रास्वपाको छातामा आउन पनि आग्रह गर्नुभयो ।

उत्पादन तथा पर्वद्धन विभागका केन्द्रीय उपप्रमुख हरि रिजालले पुराना राजनीतिक दललाई किनारा लगाउँदै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने बताउनुभयो । उहाँले रास्वपाले अब सबैको मन, मत र राजनीतिमा परिवर्तन ल्याउने गरी नयाँ सोचको बीउ रोप्ने दाबी गर्नुभयो ।

पार्टीका केन्द्रीय योजना विभाग सचिव विशाल अधिकारीले तुलसीपुरले परिवर्तन चाहेको बताउनुभयो । केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदीले पुराना राजनैतिक दलकै कारण जेनजी आन्दोलनको सिर्जना भएको बताउनुभयो । उहाँले ३४ वर्षसम्म पनि राजनीतिक परिवर्तन भएपनि नागरिकले परिवर्तन पाउन नसकेको बताउनुभयो । उहाँले आगामी निर्वाचनको नतिजामा दाङबाट क्लिनस्विप पार्ने बताउनुभयो ।

केन्द्रीय लेखा विभागका भरत रिजालले दाङबाट रास्वपाले आगामी निर्वाचनमा सकारात्मक नतिजा ल्याउने बताउनुभयो । उहाँले रबिको नेतृत्वबाट नै परिवर्तन संभव हुने बताउनुभयो । भेलामा गाउँ गाउँबाट कार्यकर्ताको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस