दाङ। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ आज आठौँ दिन पनि दर्शकको सहभागीता उल्लेख्य हुने अनुमान गरिएको छ । महोत्सवमा आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएकाले पनि दर्शकको भीडभाड उल्लेख्य हुने अनुमान गरिएको हो ।
महोत्सवमा आज सपुतसंगै गायक सागर वली, गायिका कालिका राना, डान्सर सावित्रा वली लगायतका कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
पुस ४ गतेदेखि शुरु भएको महोत्सवमा दर्शकको दैनिकजसो रौनकता बढ्दै गएको छ । बिहिबार अत्याधिक हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले दर्शकको सहभागीता उल्लेख्य हुँदा कारोबार पनि बढेको बताउनुभयो ।
‘स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ संचालित महोत्सव पुस १९ गतेसम्म संचालन हुनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा संचालित महोत्सव तुलसीपुरको घोराहीरोडस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फ मैदानमा संचालन भइरहेको छ । महोत्सवमा बाल उद्यान, जलपरी, लण्डन ब्रिज अझ धेरै आर्कषणको केन्द्र बनेका छन् ।
महोत्सवमा दैनिकजसो झन्पछि झन् दर्शककको सहभागीता बढ्दै गएपछि व्यवसायी पनि उत्साहित भएका छन् । महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिग्री पनि अत्याधिक माग हुने गरेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा दर्शकको सहभागीता उल्लेख्य हुन थालेको र यसकारणले व्यवसायी पनि उत्साहित देखिएको बताउनुभयो ।















