दाङ । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’मा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । महोत्सवमा आज ११ औँ दिनमा चर्चित गायक पुस्कल शर्मा, चर्चित गायिका प्रिति आले, हाँस्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ लगायतका कलाकारको सांगितिक प्रस्तुति रहने सांस्कृतिक संयोजक टिका जंग वलीले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा आज पनि लोकदोहोरी, सामुहिक लोक नृत्य प्रतियोगिता, स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ । पुस ४ गतेदेखि जारी महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ ।
दिनप्रतिदिन दर्शकहरूको उल्लेख्य सहभागिताले आयोजकलाई समेत उत्साहित बनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सवमा दैनिकजसो हुने दर्शकको सहभागीताले निकै उत्साहित बनाएको बताउनुभयो । उहाँले आज पनि दर्शकको सहभागीता बढ्ने बताउनुभयो ।
स्थानीय वस्तुको बजारीकरण, औद्योगिक वातावरण निर्माण गर्न र पर्यटकियस्थलको प्रचारप्रसारका लागि तुलसीपुर महोत्सवको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुने छ । महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले दैनिकजस्तो महोत्सवमा कारोबार पनि उत्साहजनक हुने गरेको बताउनुभयो ।















