२०८२ फाल्गुन २९ गते शुक्रवार

तराईमा हुस्सुले जनजीवन प्रभावित


दाङ। दाङ उपत्यकासहित तराईका अधिकांश जिल्लामा लागेको हुस्सु र कुहिरोले चिसो अत्याधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेका छन् ।

चिसोले विशेषगरी तराई/मधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्‍याएको छ । पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ ।

चिसोका कारण विषेशगरी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामीहरू बढ्दै गएका छन् । चिसोले गर्दा बालबालिकामा ‘कोल्ड डायरिया’ र निमोनियाको समस्या देखिएको छ भने वृद्धवृद्धाहरूमा दम र बाथको दुखाइ बढेको छ ।

अत्यधिक चिसोमा रगत बाक्लो हुने र रक्तचाप बढ्ने भएकाले हृदयघातको जोखिम पनि बढ्ने चिकित्सकहरूले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा अहिले हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज र भोलि पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । अहिले देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस