दाङ। दाङको तुलसीपुरस्थित गुरुकुल एकेडेमीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव आइतबार एक विशेष समारोहका बीच मनाएको छ । विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा छुट्टै पहिचान बनाउँदै गरेको यस एकेडेमीले विभिन्न रचनात्मक कार्यक्रम गरी उत्सव मनाएको हो ।
विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीका शिक्षा अध्यक्ष प्राध्यापक भोजराज जोशी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई संस्कारयुक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीमा आधुनिकतासँगै मौलिकताको पनि उत्तिकै खाँचो रहेको र त्यसको सुरुवात गुरुकुल एकेडेमीले गरेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले अभिभावकहरूको विश्वास र विद्यार्थीहरूको मेहनतले नै विद्यालय यो उचाइसम्म पुग्न सफल भएको बताउनुभयो ।
विद्यालयका संयोजक चिन्तना धितालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रुकुल एकेडेमी घोराहीका निवर्तमान प्रधानाध्यापक डा. कृष्णराज डिसी, एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, आदर्श एकेडेमीका प्रधानाध्यापक बसन्त टन्डन, अभिभावक इभान्जली बुढाथोकी, विद्यार्थी दिपेक्षा बुढाथोकीले लगायतले मन्तव्य राख्नुभएको हो ।
त्यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न नाटक, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोहमा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी तथा ठूलो संख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बासुदेव योगी र सिर्जना बोहराले गर्नुभएको हो ।















