दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा उनीहरूले निर्वाचनलाई मर्यादित र भयरहित बनाउन निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
छलफलमा सहभागी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले प्रचारप्रसारका क्रममा हुने अनावश्यक तडकभडक र खर्चलाई नियन्त्रण गर्दै स्वस्थ प्रतिस्पर्धा गर्ने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले निर्वाचनको मर्यादा कायम राख्न दलहरूको भूमिका मुख्य रहने बताउनुभयो । आचारसंहिताको उल्लंघन भएमा कानुन बमोजिम कडा कारबाही गरिने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । यस्तै ईलाका प्रशासन कार्यालय कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज पौडेलले भेला तथा सभा गर्दा २४ घण्टा अघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने नियम भएपनि सकेसम्म त्यसभन्दा अघि नै जानकारी गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको र कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी प्रशासन सतर्क रहेको बताउनुभयो । सशस्त्र प्रहरी बलका डिएसपी रामप्रसाद भण्डारीले निर्वाचन केन्द्रहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर टोली परिचालन गरिने बताउनुभयो ।














