२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरमा दुई हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने


दाङ । तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ । आज सोमबार बिहान तुलसीपुरमा आयोजित पालिका स्तरीय विद्यालय केन्द्रित खोप अभियान सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाले उक्त जानकारी दिएको हो ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीका अनुसार यस वर्ष उपमहानगरपालिका भित्र कक्षा ६ मा अध्ययनरत २ हजार १ सय २४ जना तथा विद्यालय बाहिर रहेका ४९ जना गरी कुल २ हजार १ सय ७३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । गत वर्ष तुलसीपुरमा १० हजार १ सय ६१ ज्ना किशोरीले एचपीभी खोप लगाएका थिए ।

माघ २८ गते बुधबारदेखि फागुन १ गतेसम्म उपमहानगरभित्र रहेका १९ वटै वडाका १ सय खोप केन्द्रबाट सेवा प्रदान गरिनेछ । पाठेघरको मुखको क्यान्सरबाट जोगिन प्रभावकारी मानिने एचपिभि खोप यसवर्ष कक्षा ६ मा अध्ययनरत किशोरीहरु,लक्षित उमेर समुहमा गतवर्ष छुटेका, हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय वाहिर रहेका ११ देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई प्राथमिकताका साथ लगाउने कार्यतालिका रहेको छ । विगतमा एचपीभी खोपको एक मात्रा लगाइसकेकाले भने पुनः लगाउन नपर्ने जनस्वास्थ्य अधिकृत केसीले बताउनुभयो ।

यस वर्ष सबैभन्दा धेरै वडा नम्बर ६ मा ५ सय ८९ जना किशोरीलाई खोप लगाइनेछ । उक्त वडामा तीन दिनसम्म कार्यक्रम सञ्चालन हुनेछ । पालिकास्तरीय खोप समितिका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले एचपीभी खोपले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अनिवार्य रूपमा खोप लगाउन अभिभावक तथा सरोकारवालालाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख स्यानी चौधरी, शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, पत्रकार सुनिलकुमार पोखरेल लगायतले अभियानमा ढुक्क भएर सहभागी हुन आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन किशोरीहरुलाई एचपिभी खोप अत्यन्त प्रभावकारी रहेको बताएका थिए ।

स्वास्थ्य विज्ञहरूका अनुसार एचपिभि भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर तथा यौन सम्पर्कबाट सर्ने समस्याबाट बच्न यो खोप अत्यन्त उपयोगी छ । एचपिभि खोप यो उमेरमा लगाउँदा शरीरमा बलियो प्रतिरक्षा प्रणाली विकास हुने र भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून हुने गर्दछ ।

स्वास्थ्य कार्यालय दाङका फोक्कल पर्सन भानुज्योति वलीकोे विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस