दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, गोलौरामा रहेको डिभाइन टेम्पल एकेडेमीमा वार्षिक खेलकुद सप्ताह सोमबारदेखि उत्साहपूर्वक सुरु भएको छ ।
विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रतियोगिताको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।
डिभाइन एजुकेशन फाउण्डेशनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल तेकवान्दो संघ, लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रिजालले खेलकुदले विद्यार्थीमा अनुशासन, धैर्यता र सामूहिक भावनाको विकास गर्ने बताउनुभयो । उहाँले पढाइसँगै खेलकुदलाई पनि सँगसँगै लैजान सके मात्र विद्यार्थीको व्यक्तित्व विकास हुनेमा जोड दिनुभयो ।
खेलकुद सप्ताहमा विद्यार्थीहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । खेलकुद सप्ताहमा भलिबल कबड्डी, तेकवान्दो, टेबलटेनिस लगायतका प्रतियोगिता हुने छन् ।
विद्यालयका ईसीए कोर्डिनेटर आकाश सिंहको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण पूर्ण केसीले गर्नुभएको हो ।
कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयले खेलकुद सप्ताहभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समापन समारोहमा पुरस्कृत गर्ने छ ।















