दाङ । राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश आचार्यले कुशासनको अन्त्य, जनतामा फैलाइएका भ्रमको चिरफार र बलियो संगठन नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताउनुभएको छ ।
बिहीबार दाङको लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार आचार्यले वर्तमान राजनीतिक परिस्थिति, शासन प्रणालीको अवस्था र राष्ट्रिय सार्वभौमसत्तामाथि देखिएको चुनौतीबारे स्पष्ट धारणा राख्नुभएको हो ।
उम्मेदवार आचार्यले कुशासनलाई लोकतन्त्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रित गर्दै पारदर्शिता, जवाफदेहिता र विधिको शासन सुदृढ नगरेसम्म जनताको विश्वास फर्कन नसक्ने बताउनुभयो ।
‘कानून सबैका लागि समान हुनुपर्छ, तर व्यवहारमा शक्तिशालीलाई छुट र सामान्य नागरिकलाई कडाइ गर्ने प्रवृत्ति बढेको छ।’ उहाँले भन्नुभयो–‘यस्तो अवस्थाले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउँछ ।’
उहाँले निर्वाचनलाई केवल पद प्राप्त गर्ने माध्यमका रूपमा नलिन आग्रह गर्दै यसलाई नीतिगत परिवर्तन र सुशासन स्थापना गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताउनुभयो ।
आचार्यले भ्रमको राजनीति अन्त्य गर्न आवश्यक रहेको धारणा राख्नुभयो । देशको समग्र अवस्थाबारे बोल्दै उहाँले आर्थिक संकट, बेरोजगारी, महँगी र युवाको विदेश पलायनलाई गम्भीर समस्या बताउनुभयो ।
यसैगरी राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले मुलुकको अहिलेको मूल विषय राष्ट्रियता, गणतन्त्रको रक्षा र संघीयताको खारेजी रहेको बताउनुभएको छ ।
उहाँले विदेशी हस्तक्षेपका कारण राष्ट्रियता कमजोर अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले नेपालमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति अमेरिकी साम्राज्यवादको प्रभाव भएको दाबी गर्दै उहाँले वर्तमान सरकार वैधानिक नरहेको उल्लेख गर्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक बसन्त पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन युवा परिचालन समितिका संयोजक बसन्तराज आचार्यले गर्नुभएको हो ।














