दाङ। गुरूकुल एकेडेमी तुलसीपुरको आयोजनामा कक्षा २ का विद्यार्थीलाई लक्षित दुई दिने बन्द शिविर आइतबार समापन भएको छ ।
विद्यालय परिसरमै सञ्चालन गरिएको शिविरमा विद्यार्थीको नेतृत्व सीप, सञ्चार क्षमता, समय व्यवस्थापन र सामूहिक कार्यसंस्कृति विकासमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
शिविरका क्रममा हरेक गतिविधिलाई अंक प्रणालीमा मापन गर्दै मेहनत र जिम्मेवारीका आधारमा व्यक्ति सफल बन्न सक्ने विषयमा अभ्यास तथा प्रस्तुतीमार्फत ज्ञान प्रदान गरिएको थियो ।
हरेक दिन बिहान योगा अभ्यास सत्रबाट सुरु हुने कार्यक्रम साँझ प्रेरणादायी कथासँगै समापन गर्ने गरिएको थियो । विद्यार्थीहरूले बन्द शिविरबाट आफुहरूले व्यवहारिक ज्ञान पाएको बताएका थिए ।
सहभागी प्रतीक्षा वलीले तरकारी काट्ने, भाँडा सफा गर्ने लगायतका काम सिकेको अनुभव सुनाइन् । मार्क गिरीले समूहमा मिलेर काम गर्न सिकेको र विद्यालयले सिकाइको राम्रो वातावरण तयार गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
अर्का विद्यार्थी आयन राईले विद्यालयमा सिकेका कुरालाई घरमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रम सञ्चालन गरेकोमा विद्यालय तथा सहजीकरणमा साथ दिने परिवारप्रति आभार प्रकट गरे ।
प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजिकरण विद्यालय संयोजक चिन्तना धितालले गर्नुभएको थियो । दुई दिनसम्म चलेको शिविरका क्याम्प अफिसर बासुदेव योगी रहनुभएको थियो ।
विद्यालयले हरेक वर्ष कक्षा २, ६ र ९ का विद्यार्थीलाई लक्षित गरी बन्द शिविर आयोजना गर्दै आएको जनाएको छ । विद्यालयको पर्खालभित्र सीमित ज्ञानलाई व्यवहारमा उतार्ने अवसर यस्ता शिविरहरूले दिन्छन् ।
यो कार्यक्रमले विद्यार्थीमा अनुशासन, आत्मनिर्भरता र व्यवहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अभिभावक र विद्यालयको विश्वास छ ।















