दाङ । पहाडी क्षेत्रमा वातावरणीय मापदण्ड र सावधानी विना गरिएका मानवीय गतिविधि तथा विकास निर्माणका कारण परम्परागत पानीका मुहानहरू गम्भीर सङ्कटमा पर्न थालेका छन् ।
सडक विस्तार, कलकारखाना र उद्योगका लागि गरिने जथाभावी उत्खननले जमिनमुनिको जल सतह खण्डित भई पानीको भण्डार रित्तिँदै जाँदा नागरिकहरूको दैनिकी कष्टकर बन्न थालेको छ ।
पहाडी भेगमा बढ्दो मानव बसोबास र कृषिक्षेत्र विस्तारले माटोको पानी धारण गर्ने क्षमता घटेको छ । बढ्दो जनसङ्ख्यासँगै पानीको माग बढे पनि मुहानबाट आउने पानीको मात्रा भने दिन प्रतिदिन घट्दै गएको छ । यसले मानिस मात्र होइन, पशुचौपायालाई समेत खानेपानीको अभाव हुन थालेको छ ।
जलवायु परिवर्तनका कारण पानीको हाहाकार हुन थालेको बारेमा बहस सुनिने गरे पनि गाउँघरमा बसोबास गर्ने नागरिकहरू विकासको नाउमा जथाभावी गरिने उत्खननले गहिरो प्रभाव पारेको बताउँछन् ।

दाङको सिमासंग जोडिएको रोल्पाको रुण्टीगढी गाउँपालिका–६ मा चुनढुंगा उत्खनन् भइरहेको छ । उत्खनन् भइरहेको ठिक तलतिर रहेको बगालेपानी गाउँ पानीको स्रोत पहिलेको जस्तो छैन् । तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने बगालेपानीमा पहिलेकोजस्तो पानी पर्याप्त पाउन छोडेको स्थानीय अमृता घर्तीले बताउनुभयो ।
बगालेपानी माथिको ठाउँमा करिब १ हजार रोपनी क्षेत्रफलमा चुनढुङ्गा खन्ने काम बिहान सबेरैदेखि राति अवेरसम्म हुने गरेको छ । स्थानीय ३० वर्षिय नेत्रबहादुर घर्ती सोनापुर सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्न थालेपछि पानीका मुहान सुक्न थालेको बताउनुभयो ।

बगालेपानीमा १०/१५ वर्षअघि करिब ४५ घरधुरीको बसोबास थियो । त्यो बेलामा गाउँमा पानी मनग्य पाइन्थ्यो तर पछिल्लो समय पानीको अभावलगायतका कारण देखाउँदै गाउँ छोडेर अन्तै बसाइ सर्नेहरू बढेका छन्, वस्ती पातलिदै गएको छ । गाउँमाथिबाट सिमेन्ट उद्योगका चुनढुंगा बोकेका टिप्पर दैनिक सयौँको सङ्ख्यामा चल्छन् । यसैका कारण पनि पानी कम पाउन थालिएको दीपक पुनले बताउनुभयो ।
चुनढुंगा उत्खनन् हुुने क्षेत्रमुनि बेलझुण्डी खानेपानीको आयोजनाको मुहान छ । चुनढुंगा उत्खनन्का कारण वर्षामा धमिलो पानी आउने समस्या बढेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले बताउनुभयो । उहाँले चुनढुंगा, गिट्टीबालुवाको जथाभावि उत्खननले पनि पानीका मुहानमा पानीको मात्रा घट्न थालेको बताउनुभयो ।
पानीको स्रोत संरक्षणका लागि भएका नीति कार्यान्वयन र आवश्यक नीति निर्माणमा सरकारले ध्यान दिन नसकेको राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
कुनै पनि उद्योग वा विकास आयोजनाको काम सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन, प्रारम्भिक वातावरणीय परीक्षण, जलस्रोत तथा मुहानको अध्ययन, भू–वैज्ञानिक तथा भू–प्राविधिक अध्ययनलगायतका आधा दर्जनभन्दा बढी अध्ययन तथा मूल्याङकन गरिनुपर्ने व्यवस्था छ ।
उद्योग विभागका अनुसार दाङ जिल्लामा सम्राट सिमेन्ट लगायतका गरी तीन वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । सोनापुर सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्दा निस्किएको माटो पानीका मुहानलाई प्रभाव नपर्ने गरी काम गरिरहेको उद्योगका डाइरेक्टर हरि पाठकले बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार करिब ६५ प्रतिशत नागरिकले पाइपको पानी खान्छन् । बाँकी अन्यले कुवा, जरुवाको पानी प्रयोग गर्ने गरेका छन् । जथाभावी हुने विकासनिर्माण रोक्न नसके भविष्यमा झन धेरै पानीको समस्या हुन सक्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका वरिष्ठ प्राविधिक गजेन्द्र बहकरीले बताउनुभयो ।
विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, ईसीमोडले गरेको एक अध्ययन अनुसार करिब ७४ प्रतिशत स्थानीय तहमा पानीको मुहान सुक्ने वा स्थान सर्ने समस्या देखिएको छ । यो समस्या अझ बल्झिन नदिन विकासनिर्माणका लागि भएका मापदण्ड, नीतिको पूर्ण पालना गर्नुपर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।















