२०८२ फाल्गुन २६ गते मङ्गलवार

वडा नम्बर १८ ले विद्यार्थीलाई सिप र संस्कृतिसंग जोड्दै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले विद्यार्थीहरूलाई मादल बजाउने सीप प्रदान गरेको छ । बालबालिकालाई संस्कार र संस्कृतिसंग जोड्न वडा कार्यालयले विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी १५ दिने प्रशिक्षण सञ्चालन गरेको हो ।

गत माघ १७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालित तालिममा वडाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तालिमका क्रममा प्रशिक्षक राजेन्द्र दाहालले विद्यार्थीहरूलाई ख्याली, झ्याउरे, टप्पा, मारुनी लगायत नेपाली लोक संगीतमा प्रचलित विभिन्न १० प्रकारका तालमा मादल बजाउन सिकाउनुभएको हो ।

सोमबार तालिमको समापन गर्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । वडा अध्यक्ष माधव वलीले युवा पुस्तालाई संस्कार र संस्कृतिसहितको शिक्षा दिनु आजको आवश्यकता रहेको बताउनुभयो । विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत आत्मनिर्भर बनाउन र आफ्नो मौलिक कलाप्रति गर्व गर्न सिकाउन यो लगानी गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बेलझुण्डी माविका प्रधानाध्यापक ढक बहादुर वलीले किताबी ज्ञानले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास नहुने र यस्ता व्यावहारिक र सांस्कृतिक सीपले उनीहरूको व्यक्तित्वमा निखार ल्याउँने बताउनयो ।

त्यस्तै, जनकल्याण मावि दुधरासका शिक्षक मोहनलाल नेपाली र जनता संस्कृत माविका शिक्षक शंकर आचार्यले स्थानीय सरकारले शिक्षासँगै कलालाई पनि प्राथमिकता दिनुले मौलिक संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।

वडाका कर्मचारी कपिलमणी लामीछानेको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण वडा सचिव रामकुमारी मरासीनीले गर्नुभएको हो ।

तालिमका सहभागी विद्यार्थीहरूले समापनका अवसरमा आफूले सिकेका विभिन्न तालहरू प्रदर्शन गरेर देखाएका थिए । आगामी दिनमा पनि यस्ता रचनात्मक र सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष वलीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस