२०८३ बैशाख १९ गते शनिवार

डिभाइन पाठशालाले मनायो दोस्रो वार्षिकोत्सव

दाङ। डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाइन पाठशालाले बुधबार दोस्रो वार्षिकोत्सव मनाएको छ । फाउन्डेसनका सीइओ भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका सचिव हरि प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि केसीले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउँदै निजी तथा संस्थागत विद्यालयहरूले समयानुकूल शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले डिभाइन पाठशालाले छोटो समयमा नै शैक्षिक, अनुशासन र संस्कारयुक्त वातावरण निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

विशिष्ट अतिथि हरि प्रसाद भण्डारीले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई पुस्तकिय ज्ञानसँगै व्यवहारिक र नैतिक शिक्षामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा फाउन्डेसनका सीइओ भोजराज न्यौपानेले विद्यालयको निरन्तर प्रगतिमा अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूको साथ र विश्वास नै मुख्य आधार भएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि पिस पायोनियर स्कुलको नामबाट सञ्चालित विद्यालयलाई दुई वर्षअघि फाउन्डेसनमार्फत डिभाइन पाठशालाको रूपमा नयाँ सोच, नयाँ व्यवस्थापन र गुणस्तरीय शिक्षाको लक्ष्यसहित अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँले आफूहरूले नेतृत्व गरेसँगै पूर्णरुपमा मन्टेस्वरी विधिबाट पठनपाठन गराइएको पनि जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार जीत सागर जीएमले विद्यालयले छोटो अवधिमै शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्दै संस्थाको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा फाउन्डेसनद्वारा सञ्चालित डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल विन्दु न्यौपाने, डिभाइन टेम्पल एकेडेमीका म्यानेजिङ डाइरेक्टर प्रकाश न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरूले नृत्य, गीत, मन्तव्य, नाटक लगायत विविध प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । यस्तै वार्षिक परीक्षा तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी कोर्डिनेटर रिना न्यौपानेले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षक शुष्मा लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस