२०८३ जेष्ठ १७ गते आइतवार

जेनजीले उठाएको मागप्रति हाम्रो पूर्ण समर्थन छ : विप्लव

दाङ । नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नागरिकले निर्वाचनमार्फत सरकार बनाउन माग गरेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताउनुभएको छ । नेकपा माओवादीले आज बुधबार तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले निर्वाचन सरकार बनाउने वा मन्त्री बन्ने माध्यम मात्र नभएको बताउनुभयो । जेनजीका अधुरा माग, जनयुद्धका अपुरा एजेन्डा तथा नेपाली नागरिकले उठाएका विभिन्न सवाललाई संसदसम्म पुर्‍याउने उद्देश्यले पार्टी चुनावी मैदानमा उत्रिएको उहाँको भनाई छ ।

उहाँले चुनाव लड्नुको मुख्य उद्देश्य पद प्राप्ति नभई देशको नेतृत्व गर्दै जनताका मुद्दा स्थापित गर्नु रहेको स्पष्ट पार्नुभयो । आफुहरु मन्त्री बन्नका लागि मात्रै होइन, देशको नेतृत्व गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको उहाँले बताउनुभयो ।

यसै क्रममा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीमा आफ्ना कार्यकर्ताको संलग्नता रहेको आरोपबारे पनि उहाँले प्रतिक्रिया दिनुभएको छ । विप्लवको आगो लगाउने गतिविधिमा पार्टीको कुनै संलग्नता नरहेको दाबी गर्दै जेनजीले उठाएको भ्रष्टाचारविरोधी आन्दोलनलाई आफूहरूले पूर्ण समर्थन गरेको उहाँले बताउनुभयो ।

उहाँले यसपटक नागरिकका माग र अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित निर्वाचनमा भाग लिएको दाबी गर्नुभयो । विप्लव नेतृत्वको माओवादीले पहिलोपटक संसदीय निर्वाचनमा चुनाव चिन्ह गुलाफ लिएर होमिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा पछिल्लो समय विभिन्न राजनीतिक दलहरू प्रचारप्रसारमा सक्रिय भएका छन् । दलहरूले आमसभा, घरदैलो भेटघाट तथा अन्तरक्रियालगायत कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने अभियानलाई तीव्र बनाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस