२०८३ भाद्र २७ गते शनिवार

एमालेको झण्डा जलाइएको घटनाप्रति कोमल वलीको आपत्ति : ‘अराजकता सह्य छैन’

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको र च्यातिएको घटनालाई लिएर एमाले नेता तथा समानुपातिक उम्मेदवार कोमल वलीले गम्भीर आपत्ति जनाउनुभएको छ ।

बिहिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताहरूले एमालेको प्रतीक र पहिचानमाथि प्रहार गरेको भिडियो सार्वजनिक भएपछि वलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले यस कार्यलाई घोर निन्दनीय, अस्वीकार्य र पूर्ण रूपमा अराजकतापूर्ण भनी टिप्पणी गर्नुभएको छ । राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको स्वस्थ प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष भए पनि प्रतिद्वन्द्वी दलको झण्डा जलाउनुले लोकतान्त्रिक संस्कार र सहिष्णुतामाथि सिधै प्रहार गरेको वलीको ठहर छ ।

यो घटना केवल एउटा दलमाथिको हमला मात्र नभई समग्र लोकतान्त्रिक प्रणाली, राजनीतिक बहुलवाद र विधिको शासनका लागि चुनौती भएको उहाँले उल्लेख गर्नुभएको छ । वलीले यस्ता हिंसा र द्वेष फैलाउने प्रवृत्तिले राजनीतिक संस्कारलाई कमजोर बनाउने भन्दै समयमै नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

निर्वाचनको मिति फागुन २१ नजिकिँदै गर्दा भएको यो घटनाले निर्वाचन आयोगको आचारसंहितामाथि समेत ठाडो उल्लंघन गरेको वलीले बताउनुभएको छ । यस विषयमा निर्वाचन आयोग, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्बन्धित सबै निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले लोकतन्त्रको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको स्मरण गराउनुभएको छ ।

असहमतिको सम्मान गर्ने प्रणाली नै लोकतन्त्र भएकाले यस्ता खालका अराजनीतिक गतिविधिहरू कुनै पनि हालतमा सह्य नहुने उहाँको चेतावनी छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस