दाङ । दाङसहित देशभर चुनावी रौनक बढेको छ । निर्वाचनको मिति आउन अब १३ दिनमात्रै बाँकी हुँदा प्रमुख राजनीतिक दलहरुले चुनावी सभालाई प्राथमिकता दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पाटीले आज दाङको घोराहीमा विशाल चुनावी सभा गर्न लागेको छ । बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा गरेर घोषणा पत्र सार्वजनिक गरेको रास्वपाले आज घोराहीमा विशाल चुनावी सभा गर्न लागेको हो ।
घोराहीमा हुने आम सभाका लागि रास्वपा सभापति रबि लामिछाने र बरिष्ठ नेता बालेन शाह तुलसीपुर हुँदै फर्किने भन्ने हल्लाले तुलसीपुरमा बिहिबार साँझ सयौँ समर्थकको भिडभाड रहेको थियो । तर बालेन सुर्खेतबाटै काठ्माडौँ गएको खबर पाएपछि समर्थक निराश भएका थिए ।
सभापति लामिछानेलाई मात्रै भएपनि तुलसीपुरमा स्वागत गर्न समर्थक राती १० बजेसम्म पनि समर्थकको अत्याधिक भिड रहेको थियो । समर्थकको भिडभाडका कारण सुरक्षाकर्मीलाई भिड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
सभापति लामिछाने तुलसीपुरमा आएपछि समर्थकले नाराबाजी गरेका थिए । तुलसीपुरको बसपार्कदेखि घोराहीरोडसम्म समर्थकको भिड रहेको थियो । सभापति लामिछानेलाई स्वागत गर्न हापुर, हंसपुर, रगैचा लगायतका ठाउँमा पनि अत्याधिक भिडभाड रहेको थियो ।
















