२०८३ बैशाख १३ गते आइतवार

तुलसीपुरमा अनुसन्धानात्मक प्रथम राष्ट्रिय सम्मेलन हुने

दाङ । दाङको तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ । दाङको शैक्षिकस्तरलाई अनुसन्धानमूखी बनाउन राप्ती बबई क्याम्पस तुलसीपुरले आगामी चैत्र ६ र ७ गते दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

सम्मेलनका बारेमा जानकारी दिँदै राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा ठुलो उपलब्धि हुन नसकिरहेको अवस्थामा क्याम्पसले दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभयो ।

सम्मेलनमा काठ्माण्डौ, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताहरूको सहभागिता रहनेछ ।

अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । क्याम्पसका उपप्राध्यापक तथा सम्मेलनका सह–संयोजक सुर्य प्रसाद शर्माले एमफिल र पिएचडी गर्न चाहने तथा अध्ययनबाहेक अनुसन्धानात्मक लेख लेख्ने व्यक्तिहरुका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँका अनुसार शिक्षा प्रणालीमा नवपर्वतन, वर्तमान शैक्षिक विधिहरुमा नयाँपन र सुधारका लागि क्याम्पसले प्रथम अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलनमा १ सय बढी सहभागी हुनेछन् ।

शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अंग्रेजी भाषा लगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेकाहरुका विद्यार्थी सहभागी हुन पाउनेछन् ।

दाङलाई शैक्षिक हब बनाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ । सम्मेलनमा बाह्य जिल्लाबाट आउने सहभागीका लागि आवाससहितको सुविधा समेत रहेको छ ।

क्याम्पसले आगामी दिनमा नयाँ विषयहरु बिआइटी, बिआइसीटी जस्ता विषय अध्यापन गराउने तयारी पनि गरिरहेको अवस्थामा अनुसन्धानमूलक गोष्ठीले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख पार्धेले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले तुलसीपुरमा गरिन लागेको अनुसन्धानमूलक सम्मेलन शिक्षा क्षेत्रमा नयाँ अभ्यास भएको बताउनुभयो । उहाँले अहिले पनि शिक्षामा भौतिक पूर्वाधारको विकासमात्रै लिने गरिएको तर यस्ता कार्यक्रम कम हुने गरेको बताउनुभयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीले तुलसीपुर क्षेत्रमा एमफिल र पिएचडी गर्ने भनेर सोच गरिरहेकाहरुका लागि अनुसन्धानात्मक क्षेत्र सहज होस् भनेर यस किसिमको सम्मेलन गरिन लागेको बताउनुभयो । उहाँले यस क्षेत्रमा जनशक्ति कम भएको हुँदा क्याम्पसले नीति नै बनाएर पढ्न पाउने सुविधा उपलब्ध गराएको बताउनुभयो ।

क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिनिल केसीले अनुसन्धान गरेर केहि सिक्न चाहनेका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सम्मेलनलाई सफल बनाउनका लागि नीजि क्षेत्र सहकार्य गर्न तयार रहेको पनि उहाँको भनाई छ ।

सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा.देवराज अधिकारीले गर्नुहुनेछ । सम्मेलनका संयोजक डा. प्रेम योगीको विषय प्रवेशबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण कर्मचारी भीमार्जुन रेग्मीले गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख तथा प्रचारप्रसार उपसमिति संयोजक आनन्दा खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आयोजकका अनुसार अहिलेसम्म सम्मेलनको तयारी करिब ७० प्रतिशत पुरा भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस