दाङ । प्रतिनिधिसभा चुनावको लागि दाङ लगाएत देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो ।

अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् ।
दाङमा चार लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । जसमा दुई लाख १३ हजार ३८० पुरुष र दुई लाख १८ हजार ३०३ महिला र तीन जना अन्य मतदाता रहेका छन् ।
जिल्लाका प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारीका दरले दुई हजार आठ सय ९२ जना, घोराही र तुलसीपुरमा रहेका दुई वटा कारागारमा रहेका अस्थायी मतदान केन्द्रमा तीन/तीन जनाका दरले छ जना गरेर जम्मा दुई हजार आठ सय ९८ जना कर्मचारी निर्वाचनमा खटिएका छन् ।
निर्वाचन आयोगका अनुसार दाङमा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा विभिन्न पार्टीसँगै स्वतन्त्र उम्मेदवार गरेर ६० जना चुनावी मैदानमा रहेका छन् ।
देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् ।
मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन् । तर मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्नेछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई चुनावमा सहभागी हुन आह्वान गर्नुभएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको उहाँले बताउनुभएको छ ।















