२०८३ जेष्ठ २७ गते बुधवार

दंगीशरणका किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण


दाङ । दाङको दंगीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ । आज सोमबार एक कार्यक्रमको आयोवजना गरी पालिकाले गाउँपालिकाभित्र रहेका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष गिरीले कृषि प्रधान क्षेत्रका रूपमा परिचित दंगीशरणमा आधुनिक खेती प्रणालीलाई प्रवद्र्धन गर्न गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले वितरण गरिएका कृषि सामग्रीको अधिकतम सदुपयोग गरी उत्पादन वृद्धि गर्न किसानहरूलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट ६ लाख रुपैयाँ र हेफर परियोजनाबाट १० लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ विनियोजन गरिएको थियो । किसानहरूको तर्फबाट पनि १६ लाख रुपैयाँ लागत सहभागिता जुटाइएपछि कुल ३२ लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको हो ।

टेन्डर प्रक्रियामार्फत खरिद गरिएका २६ लाख २२ हजार २ सय १४ रुपैयाँ बराबरका कृषि उपकरण किसानहरूलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएका सामग्रीमा २० वटा मिनी टिलर, ५ वटा रिपर, ११ वटा चापकटर, ११ वटा दुई इन्च मोटर डुबाउने पम्प तथा ७ वटा तीन इन्च क्षमताका पानी निकाल्ने मोटर रहेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख शरु भुषालले सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएपछि आवश्यक प्रक्रिया पूरा गरेका कृषि समूह तथा फर्महरू छनोट गरी सामग्री वितरण गरिएको बताउनुभयोे । उहाँले गत वर्ष छनोटमा पर्न नसकेका समूह तथा फर्मलाई यस वर्ष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, साझेदारी परियोजना महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, संस्थापक अध्यक्ष विमला योगी, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोख्रेल, हेफर परियोजनाका गाउँपालिका संयोजक गोमा भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कृषि सहायक अधिकृत मानबहादुर डाँगीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस