गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहीन कृषकलाई लक्षित गरी सात दिने मौरीपालन सम्बन्धी तालिम सुरु भएको छ ।
गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) को समन्वयमा आयोजित सात दिने मौरीपालन तालिम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सुरु भएको हो ।
युएन हेबिटाट र गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिम सोमबारदेखि सुरु भएको हो । तालिममा गढवा गाउँपालिका र राप्ती गाउँपालिका का गरी ५० जना भूमिहीन महिला तथा पुरुष कृषक सहभागी छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भूमिहीन कृषकलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मौरीपालन तालिम आयोजना गरिएको बताउनुभयो ।
उहांले गाउँपालिकाले सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लगायत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै कृषकलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार गढवा क्षेत्रमा मौरीपालन व्यवसाय अझै प्रारम्भिक अवस्थामा रहेकाले यस क्षेत्रमा राम्रो सम्भावना रहेको छ । तालिमबाट सहभागीहरूले मौरीको पहिचान, पालन–पोषण, घार व्यवस्थापन, मह सङ्कलन तथा बजारीकरणसम्बन्धी ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गढवा गाउँपालिका संग भूमी लगायतका कार्यमा नियमित सहकार्य गर्दै आएको भन्दै तारिफ गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्षलेख बहादुर थापाले सीप र प्रविधिविना व्यवसायिक मौरीपालन सम्भव नहुने उल्लेख गर्दै कृषकको आवश्यकता अनुसार तालिम आयोजना गरिएको बताउनुभयो। वडाध्यक्ष थापाले तालिमबाट भूमिहीन कृषकले मौरीपालन व्यवसायमार्फत राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक तथा मौरी विज्ञ रुद्रमणी पौडेलले तालिममा मौरीपालनका सैद्धान्तिक विषयसँगै बढी प्रयोगात्मक अभ्यास गराइने बताउनुभयो। सहभागीलाई मौरी पालन, घार सार्ने तरिका, मह सङ्कलन तथा विषादीबाट मौरीलाई जोगाउने उपायबारे प्रशिक्षण दिइने उहाँले जानकारी दिनुभयो ।
तालिममा गढवा गाउँपालिका वडा नं. ५ को ठूलीचौर भूमि अधिकार मञ्चका २४ जना, डाँडागाउँ भूमि अधिकार कृषक समूहका १५ जना तथा राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहका ११ जना गरी ५० जना सहभागी छन्। तालिम चैत २ गतेदेखि ८ गतेसम्म गढवा उद्योग वाणिज्य संघ को सभाहलमा सञ्चालन हुनेछ ।
गढवा गाउँपालिका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कृषि प्राविधिक फूलनदेवी चौधरी, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठी लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण कृषि प्राविधिक सागर शर्माले गर्नु भएको थियो ।















