दाङ । दाङ उपत्यकासहित देशका केहि ठाउँमा आज पनि आंशिक बदली रहने अनुमान गरिएको छ । दिउँसोपछि देशका केही ठाउँमा बदली भएर हल्का वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर दाङ र आसपासका क्षेत्रमा वर्षाको संभावना छैन ।
मौसम महाशाखाकाअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रवार र शनिवारको जस्तो ठूलो वर्षा नभए पनि प्रि–मनसुनको याम भएकाले दिउँसो र बेलुकीपख हल्का वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाको भनाइ छ ।



















