दाङ । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उहाँका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ ।
प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।
सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।
गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उहाँले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।
शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले बताएको छ ।
जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । केही दिनदेखि देउवा परिवारको निर्देशनमा कामदारहरु परिचालन गरेर क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो ।














