सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ जामुनेमा रहेको सरस्वती आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ । विद्यालयको आइतबार भेलाबाट भुपेन्द्र बोहराको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । बोहरा दोस्रो कार्यकालका लागि पुन ः अध्यक्षमा चयन हुनुभएको हो ।
यसअघिको कार्यकालमा विद्यालयको भौतिक एवं शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुन ः अध्यक्षमा चयन गरिएको हो । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सनिता कवंर मगर रहनुभएको छ भने अन्य सदस्यहरु च्यन भएका छन् ।
भेलाले शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति चयन गरेको छ । बहादुर विकको अध्यक्षमा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । यस्तै राम बहादुर घर्तीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यस्तै काँशीराम रेउलेको अध्यक्षतामा सात सदस्यीय निर्माण समिति गठन गरिएको विद्यायलले जनाएको छ ।
विद्यालयमा विपन्न तथा अनाथ टुहुरा बालबालिकाको शिक्षामा सहजताका लागि अक्षय कोष स्थापना गरिएको छ । कोषमा अहिलेसम्म सात लाख २१ हजार रकम जम्मा भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र बोहराले जानकारी दिनुभयो । कोषको व्याजबाट प्राप्त रकमले विपन्न तथा टुहुरा बालबालिकाको पढाईमा सहजताका लागि शैक्षिक सामाग्री, विद्यालय पोषाक लगायतका सामग्री सहयोग गर्ने गरिएको छ ।
विस २०३७ सालमा स्थापना भएको विद्यालयमा साविक रिम गाविसको वडा नम्बर ३, ४ र ९ विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । विद्यालयमा अहिले १४२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले शिक्षक र कर्मचारी ११ जना रहेका छन् ।















