दाङ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
ओलीलाई रिहा गर्न माग गर्दै दायर भएको निवेदनमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।
ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराउनुभएको हो । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।
प्रहरीले अस्ति शनिवार दुवै नेतालाई पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार बल प्रयोग गरेको अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न प्रहरीले उहाँहरूलाई पक्राउ गरेको हो ।
हिजो जिल्ला अदालत काठमाण्डौले ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।















