दाङ । नेकपा (एमाले) ले जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन र रूपान्तरणको आवाजलाई पुनः अस्वीकार गरेको छ । महाधिवेशनमा मूल नेतृत्व परिवर्तन गर्न अस्वीकार गरेको एमालेले संसदीय दलको नेता चयनसम्म आउँदा पुस्तान्तरणको आवाजलाई पनि अस्वीकार गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई दलको नेता बनाउन चाहनुभएको थियो । अध्यक्षको चाहनालाई दलले अनुमोदन गरेपछि बादल निर्विरोध दलको नेता बन्नुभएको छ ।
संसदीय दलको नेता सुहाङ नेम्वाङ बन्ने चर्चा थियो । तर महासचिव शङ्कर पोखरेलका कारण सुहाङले प्रस्तावक र समर्थक पाउनुभएन । रामबहादुर थापा भने समानुपातिक प्रणालीबाट छानिनुभएको हो ।
एमालेको यो निर्णयप्रति युवाहरूले आक्रोश पनि पोखेका छन् । अनेरास्ववियुका केही कार्यकर्ताले साँझ युवा आवाज सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन पनि गरेका छन् । महासचिव शंकर पोखरेलविरूद्ध नाराबाजी गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
युवा नेताहरुले पार्टी महासचिव पोखरेलको पुत्ला दहन गरेका छन् । संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई बलजफती पाखा लगाएपछि पार्टी निकट युवाहरु विरोधमा उत्रिएका हुन् ।















