२०८३ बैशाख ५ गते शनिवार

सभामुखका लागि मनोनयन आज : उपसभामुख राप्रपाले पाउने सम्भावना

दाङ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । २२ गते हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

२२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

संसदमा एकल बहुमत भएका कारण सभामुख पद रास्वपाले पाउने पक्का छ । रास्वपाले सभामुखको उम्मेदवारमा उपसभापति डीपी अर्याललाई अघि सारेको छ । रास्वपा संसदीय दलको बिहीबार बसेको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख रास्वपाबाट अर्याल हुने निश्चित भए पनि उपसभामुखको टुंगो भने लागिसकेको छैन । यद्यपि उपसभामुख राप्रपाले पाउने सम्भावना बलियो छ । राप्रपाबाट खुश्बु ओली उपसभामुख बन्ने सक्ने सम्भावना देखिएको हो ।

उपसभामुखका लागि नेकपाले पनि आस गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ । तर उपसभामुख नेकपालाई दिए संवैधानिक परिषद्को शक्ति सन्तुलन बिग्रिन सक्ने भन्दै रास्वपा नेतृत्व सचेत बनेको बताइन्छ ।

नेकपा र एमाले एकतामा जान सक्ने र विपक्षी दलको नेतासमेत उसैले पाउने सम्भावनाबारे रास्वपा नेताहरू सचेत छन् । विपक्षी दलको नेता र उपसभामुख पनि एउटै पार्टीको हुँदा संवैधानिक परिषद्को शक्ति सन्तुलन बिग्रिनसक्ने भन्दै रास्वपा नेतृत्व नेकपालाई उपसभामुख दिन सकारात्मक नदेखिएको हो ।

त्यसैमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह कम्युनिस्टसँग मिल्न सकारात्मक नरहेको पनि बताइन्छ । सोही कारण सभामुख र उपसभामुखमा रास्वपा र राप्रपाबीच तालमेल हुने सम्भावना बढेर गएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस