दाङ । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको पाँचौं बैठक आज बस्ने भएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचना अनुसार सातौं अधिवेशनको पाँचौं बैठक आज बस्न लागेको हो ।
लुम्बिनी प्रदेशसभाको सातौं (हिँउदे) अधिवेशन मंसिर ८ बाट सुरु भएको थियो । मंसिर ८ को पहिलो बैठक शुभकामना आदानप्रदान र प्रदेश प्रमुखका पत्र पढेर सुनाएपछि सकिएको थियो । तर, दोस्रो बैठक बस्न झण्डै साढे २ महिना लागेको छ ।
माघ १३ मा बसेको दोस्रो बैठकमा सरकारका तर्फबाट दलित अधिकार सम्बन्धी विधेयक, जिवनाशक विषादी व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धी विधेयक र प्रदेश प्रमुखबाट फिर्ता भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश भएको थियो ।
माघ १४ मा बसेको तेस्रो र २० गते बसेको चौंथो बैठकले तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकेर दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएका थिए। तीनवटै विधेयक अहिले विषयगत समितिमा छलफलमै छन् । तीबाहेक अन्य विधेयक नभएपछि माघ २० यता थप बैठक बसेका थिएनन् ।
चौंथो बैठक बसेको २ महिनापछि सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) अनुसार आइतबारका लागि पाँचौं बैठक बस्न लागेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले ‘विजनेश’ नसकेपछि लुम्बिनी प्रदेशसभा झण्डै एक वर्षदेखि कामविहीन बन्दै आएको छ ।
विधेयकमाथिको छलफल, पारित, कानुन निर्माण र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल गर्ने र नीति तयार गर्नुपर्ने मुख्य जिम्मेवारी रहे पनि सरकारकै गति सुस्त भएपछि प्रदेशसभा बेकामे बनेको हो । लुम्बिनी प्रदेशसभाको झण्डै एक वर्षको अवधिमा २१ वटा बैठक मात्र बसेका छन् ।



















