२०८३ बैशाख १ गते मङ्गलवार

बैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

दाङ। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) एक महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । शैक्षिक सत्र २०८२ को एसईई १९ देखि २९ चैतसम्म सञ्चलान भएको थियो ।

यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो । हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ ।

बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ । इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन् । समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार बढी विद्यार्थीले सहभागीता जनाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस