२०८३ बैशाख ४ गते शुक्रवार

सडकका खाल्डाखुल्डी पुर्न जनस्तरबाटै सक्रियता : समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा मर्मत


दाङ । दाङको मुख्य लाइफलाइन मानिने तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर–७ पर्सेनी क्षेत्रमा सडकका खाल्डाखुल्डी पुरिएको छ । चारलेन निर्माणमा ढिलाइ हुँदा सडक जीर्ण बनेर दुर्घटनाको जोखिम बढेपछि स्थानीय र समाजसेवीहरूको सक्रियतामा मर्मत गरिएको हो ।

जय जीव दर्शनका प्रवर्तक एवं समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा सडकका खाल्डा पुर्ने काम भएको हो । चारलेन निर्माणको काम यस खण्डमा अझै सुरु नभएको र पुरानो पक्की सडक भत्किएर निकै सास्ती भोग्नुपरेपछि पौडेलले व्यक्तिगत पहलमा यो अभियान सुरु गर्नुभएको हो ।

सडक मर्मतका लागि स्थानीय व्यवसायी र समाजसेवीहरूले निर्माण सामग्री उपलब्ध गराउनुभएको थियो । पर्सेनी मेडिकलका रमेश विष्टले सिमेन्ट सहयोग गर्नुभएको हो भने स्थानीय सुमित्रा कँडेलले बालुवा र गिट्टी सहयोग गर्नुभएको हो ।

खाल्डा पुर्ने कार्यमा नवीन बुढा, रमेश विष्ट, टोल विकास संस्थाका अध्यक्ष हरि कँडेल, अस्थायी प्रहरी पोष्ट पर्सेनीका मनोज पौडेल, जितपुर निवासी सरिता पौडेल र देवीलाल अधिकारी लगायत स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।

लामो समयदेखि निर्माणको पर्खाइमा रहेको यो सडक खण्डमा धुलो र खाल्डाखुल्डीले गर्दा सवारी चालक र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । सरकारी निकायबाट तत्काल ठोस काम नभएपछि आफ्नै श्रम र लगानीमा सडकलाई केही सहज बनाउने प्रयास गरिएको समाजसेवी पौडेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस