२०८३ बैशाख ४ गते शुक्रवार

चखौरामा ’रैथाने खाना महोत्सव’ सुरु

दाङ । दाङको दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा ’रैथाने खाना महोत्सव’ भव्य रूपमा सुरु भएको छ । ’चखौरामा घुमघामः रैथाने स्वाद अनि संगीतको धुमधाम’ भन्ने नाराका साथ थारु सांस्कृतिक संरक्षण केन्द्रको दंगीशरण–३ चखौराको समन्वय तथा सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुरको बाँकेको आयोजनामा महोत्सव सुरु भएको हो ।

आजदेखि ६ गतेसम्म चल्ने यस महोत्सवमा स्थानीय रैथाने खानाका परिकारहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । महोत्सवमा विशेषगरी थारु समुदायका परम्परागत खाजा तथा खानाका परिकारसँगै नेवारी समुदायका खानाका परिकारका स्वादहरू प्रदर्शन गरिएको छ ।

मुखै रसाउने मौलिक स्वादहरूको आनन्द लिन स्थानीय तथा आसपासका क्षेत्रबाट सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।

महोत्सवमा चखौरा होमस्टेका काँशीराम चौधरीले ढिकरी,खरिया, घोंगी, अनदीको भात लगायतका प्रदर्शनीमा राखिएको बताउनुभयो । महोत्सवमा थारू समुदायसंगै नेवार, मगर लगायतका समुदायका खानाका परिकार प्रदर्शनीमा राखिएको हो ।

खानाको स्वादसँगै महोत्सवलाई सांगीतिक र सांस्कृतिक प्रस्तुतिले थप आकर्षक बनाएको छ । महोत्सवमा चर्चित गायक रोशन रत्गैँया, गायिका रीता चौधरी लगायतका कलाकारको विषेश साँस्कृतिक प्रस्तुति रहेको छ ।

यस्तै थारु समुदायको पहिचान बोकेका विभिन्न नाचगान र संगीतको प्रस्तुतिले चखौराको वातावरण उत्सवमय बनेको छ । महोत्सवले स्थानीय खाना र संस्कृतिको प्रवद्र्धन गर्ने पर्यटन डिभिजन कार्यालय बाँकेका कार्यक्रम संयोजक कृष्णप्रसाद बिष्टले बताउनुभयो ।

महोत्सवको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले गर्नुभएको हो । उहाँले रैथाने खानाको प्रवद्र्धन गरी रोजगारी र आर्थिक क्षेत्रसंग जोड्न सकिने बताउनुभयो ।

तीन दिनसम्म चल्ने यो महोत्सवमा रैथाने सीप र स्वादको संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस