२०८२ जेष्ठ ८ गते बिहिवार

लुम्बिनीमा अपराधको ग्राफ बढ्दो : ६ महिनामा ५७ जनाको हत्या

दाङ,२९ फागुन । लुम्बिनी प्रदेशमा अपराधको घटना बढ्दो रहेको पाइएको छ । लुम्बिनीमा पछिल्लो ६ महिनामा ५७ जनाको हत्या भएको प्रहरीको तथ्याङकले देखाएको छ । तीमध्ये परिवारबाटै १४ जना मारिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार माघ मसान्तसम्ममा सबैभन्दा बढी रूपन्देहीमा ९ जनाको हत्या भएको छ । दाङ र बाँकेमा ७/७, पश्चिम नवलपरासीमा ६, प्युठान र रोल्पामा ५/५, पाल्पा र गुल्मीमा ४/४, रुकुम पूर्व, अर्घाखाँची र कपिलवस्तुमा ३/३ र बर्दियामा १ गरी ५७ जनाको हत्या भएको छ ।

त्यसमध्ये रूपन्देही र प्युठानमा ३/३, गुल्मी र रोल्पामा २, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची र दाङमा १/१ गरी १४ जनाको एकै घरका परिवारबाटै हत्या भएको छ । ६ महिनामा लुम्बिनी प्रदेशमा मात्र कर्तव्य ज्यान, खुनडाँका, अपहरण तथा ज्यान मार्ने उद्योग, चोरीडाँका लगायतका घटनामा ७ सय ८८ वटा मुद्दा दर्ता भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की पछिल्लो समय समाजमा बढ्दो भौतिकवाद, भोग्यवाद र पारिवारिक विखण्डनले आपराधिक गतिविधि बढाउँदै लगेको बताउनुभयो । परिवारभित्रको बेमेल, आर्थिक अभाव, समाजमा अरुको देखासिकी, सामाजिक सञ्जालको दुरुपयोग र आपसी मनमुटावले अपराधका घटनाको ग्राफले बढ्दो रहेको उहाँले बताउनुभयो ।

बसाइँसराइ र रोजगारीका लागि परिवारका युवा सदस्य घरबाहिर हुँदा पनि समाजमा विखण्डन बढ्दो छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसमा एक प्रकारको एन्जाइटी बढाउने, त्यसपछि निराशा उत्पन्न भएर हत्या र आत्महत्यामा पुगेको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस