२०८२ जेष्ठ ८ गते बिहिवार

तरकारी र कागती खेती संगसंगै


दाङ, १४ चैत । कमला ओली अहिले कागती खेतीमा व्यस्त हुनुहुन्छ । उहाँको दैनिकी खेतबारीमै परिश्रम गर्दै बित्ने गरेको छ । घरायसी कामसँगै उहाँले तरकारी र कागती खेती गर्दै आउनु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटका कमला विगत ८ वर्षदेखि व्यावसायीकरुपमा कागत खेती गर्न थाल्नुभएको हो ।

बारीमा सुरुवाती चरणमा १५० वटा बोट रोपेको कमलाले बताउनुभयो । त्यसपछि अर्को वर्ष बारीमा चारसय कागतीका बिरुवा लगाएको उहाँको भनाई छ ।

कागती लगाएको दुई वर्ष पछि फल दिन सुरु गरेको थियो । सुरुमा रोल्पाबाट स्थानीय कागतीका बिरुवा ल्याएर लगाउनुभएको थियो । सुरुमा कागतीको बिरुवा ल्याउनको लागि दुई हजार पाँच सय लगानी गर्नुभएकी कमलाले अहिले त्यही कागती खेतिलाई व्यावसायिकरुप दिनुभएको छ ।

थोरै लगानीबाट सुरुवात गरिएको कागती खेतीलाई अहिले व्यावसायीक रुप दिएको उहाँले बताउनुभयो । उहाँले अर्को वर्षपनि अझ धेरै कागती खेती गर्ने सोचले रोल्पा, सल्यान , कपुरकोटबाट लोकल कागतीको बिरुवा ल्याएर लगाउनुभयो ।

त्यति मात्रै नभएर दाङको बिजौरीबाट १५ वटा सुन कागतीका बिरुवा लगाउनु भएको छ । ‘अहिले कागतीको बोटमा राम्रो फल लागेको छ ।’ उहाँले भन्नुभयो–‘बिरुवा लगाएको दुई वर्षपछि बोटमा फल लागेको हो ।’

अहिले उहाँको बारीमा ९ सय भन्दा बढी कागतीका बोट रहेको छ । त्यस बोटमा फल लागेसंगै आम्दानी पनि राम्रो भएको उहाँको भनाई छ । ‘सिजनमा एक लाख जति आम्दानी हुन्छ ।’ उहाँले भन्नुभयो–‘अन्य वर्षको तुलनामा यसवर्ष अलि बढी फलेको थियो ।’

कागती लगाएको जमिनमा उहाँले पहिले टमाटर खेती पनि गर्दै आउनुभएको थियो । टमाटर खेतीबाट सन्तुष्टी प्राप्त नभएपछि कागती खेतीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । टमाटरले राताम्मे हुने बारीमा यतिबेला लटरम्म कागतीका दाना पहेंलै भएका छन् ।

उहाँले आफ्नो १० कट्ठा जमिनमा कागती खेति गर्दै आउनु भएको छ । कागती खेतीलाई थप विस्तार गर्नको लागि उहाँले तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट स्वरोजगार कर्जा लिनुभएको छ ।

संस्थाबाट स्वरोजगारबाट दुई लाख रुपैयाँ कर्जा लिनुभएको छ । त्यही कर्जाले कागती खेति गर्न सहज भएको छ । किस्ता तिर्ने र घरखर्च चलाउन धेरै सहज भएको उहाँले बताउनुभयो ।

हाम्रो पहुँच सहकारीमा जोडिएपछि उहाँलाई कागती खेती गर्ने थप हौसला मिलेको छ । ‘पहिले थोरै क्षेत्रफलमा कागती खेती गरेको थिए ।’ उहाँले भन्नुभयो–‘संस्थामा जोडिएपछि कर्जा लिएर व्यावसायीक रुपमा खेती गर्दै आएको छु ।’ लगानी बढाएर कागती खेतीलाई पनि बढाएको उहाँले बताउनुभयो ।

‘टमाटरलाई धेरै स्याहार सुसार गर्नुपर्ने, रोग लाग्न नदिनका लागी समय समयमा औषधि तथा भिटामिनहरु छर्नुपर्ने हुन्थ्यो । लगानी पनि धेरै लाग्ने तर मूल्य नपाउने समस्या हुन्थ्यो ।’ उहाँले भन्नुभयो–‘अहिले टमाटर खेती छोडेर कागती खेती सुरु गरेको छु ।’

कागतीमा धेरै लगानी पनि गर्नुपदैन । मेहनत पनि कम लाग्ने गरेकोले यो व्यवसाय रोजेको उहाँले बताउनुभयो । ‘कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन ।’ उहाँले भन्नुभयो–‘कागतीमा कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।’

उत्पादन भएको कागती तुलसीपुर बजारमा बिक्री हुने गरेको छ । थोकमा किलोको ८५ रुपैयाँमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । गतवर्ष उहाँले एक सिजनमा ८० हजार आम्दानी गर्नु भएको थियो । भिरालो जमिन त्यसमा पनि चिसो मौसम भएकोले कागती खेती गर्न सहज भएको उहाँको भनाई छ ।

कमलाको कागती खेतीले उहाँको जीवनस्तर मात्र सुधारिएको छैन । गाउँका अन्य किसानहरूलाई पनि प्रेरणा दिइरहेको छ । उहाँको संघर्षले व्यावसायिक कृषि खेतीको नयाँ बाटो खोल्न मद्दत पुर्याएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस