२०८२ जेष्ठ ८ गते बिहिवार

भाष्करराज कर्णिकारलाई खुल्लापत्र : पत्रकार सुरेशको मृत्यु घटना या दुर्घटना ?

दाङ, १६ चैत ।

“देश काल परिस्थिति फरक बन्दै गैरहेको मात्रै होइन

फेरि एउटा पृथक कालखण्डको निर्माण भैरहेकोछ,

जनता नै अन्तिम र शाश्वत त्यस्तो शक्ति पुन्न्ज हो,

फेरि एउटा अर्को बृहत्तर इतिहास रचना गर्नसक्छ ।”

तिम्रो यही भनाईलाई पुष्टि गरेको छ, सुरेश रजकको मृत्युले । साँच्चै,“फेरि एउटा अर्को बृहत्तर इतिहास रचना” गरेको छ भाष्करराज कर्णिकार । आज सुरेशको मृत्युमा तिमी जति भाव विभोर हुँदै सरकारका पक्षधरलाई दोषारोपण गरिरहेका छौ त्यति गर्न तिमीलाई कुनै पनि अधिकार छैन । मेरो नजरमा तिमी नै सुरेशको ह’त्यारा हौ । आफु जोगिनका लागी तिमीले रातारात जसरी सरकारका पक्षधरहरु माथि नै प्रश्न गरिरहेका छौ त्यतिले सुरेशलाई न्याय मिल्नै सक्दैन ।

तिमीले भनेका छौ, “मैले सशस्त्र प्रहरीका राजु जीलाई तीन पल्ट चार पल्ट कुरा गरें, नेपाल प्रहरीका दिपक थापालाई मैले फोन गरें फोन उठाउनु भएन र काठमाण्डौका सिडियोलाई मैले करिबन पच्चिस पल्ट फोन गरें हुँला फोन उठेन । फोन काटेको काटै गर्नु भयो । मैले टेक्स गरें, आएम भाष्करराज कर्णिकार फर्म एभिन्यूज ईट्स भेरी अर्जेन्ट नो रेस्पोन्स । यस्तो पनि हुन्छ ?”

अब तिमिलाई मेरो प्रश्न के साँच्चै यस्तो पनि हुन्छ ? घटना घटिसकेपछि राज्यका यी तिनै तहका निकायलाई फोन गर्नु भन्दा पहिले नै आफ्ना रिर्पोटरहरुलाई फिल्डमा खटाउनु पूर्व “फस्ट आफु सुरक्षित रहुन अनि मात्र रिर्पोटिंगमा ध्यान दिनु ।” भनेर किन सिकाउनु भएन ? तपाईको लागी टेलिभिजनमा प्रशारण गर्नु पर्ने फुटेज महत्वपुर्ण कि तपाईँको जिम्मेवारीमा रहेका पत्रकारको ज्यान ?

सुरेको मृ’त्यु प्रकरणले मैले त यही बुझेको छु कि यदि सुरेशले आफुलाई त्यस्तो जोखिमा राखेर यदि त्यो फुटेज खिच्दैनथे भने तिम्रो गालीले उनको स्वाभिमान नै लाई आ’त्मह’त्या गर्न बाध्य बनाउँथ्यो । किनभने उनी हिजोअस्ति मात्रै पत्रकारीतामा आएर तिम्रो क्यामेरा बोकेर आन्दोलनकारीको फुटेज खिच्ने मौका पाएका पत्रकार थिएनन् । हुलमुलमा कसरी ज्यान जोगाउने भन्ने कुरा पत्रकारीताको यतिका लामो अनुभवमा उनले जानिसकेका र बुझिसकेका थिए ।

साना होस् या ठूला जस्तो सुकै आन्दोलनमा आफ्नो ज्यानको सुरक्षा गर्नु नै पत्रकारको पहिलो प्राथामिकता हुन्छ भन्ने कुरालाई राम्ररी बुझेका सुरशेले किन आफुलाई जोगाउनु भन्दा धेरै तिम्रो टेलिभिजनका लागी फुटेज खिच्नमै केन्द्रित भए ? के यस्तो पनि हुन्छ मिडिया मालिकको आदेश ? सुरक्षाकर्मीले बोकेको सेफ्टि गार्डको पछाडि उभिएर उनले फुटेज खिच्दै गर्दा उनीमाथि आ’क्रम’ण भएर उनको ज्यान गुमाएको भए आज तिमी यी प्रश्नै प्रश्नको घेराबन्दिमा पर्दैनथ्यौ भाष्कर । आज तिमी आफुलाई जोगाउन सरकारलाई प्रश्न गर्दैछौ ? के यस्तो पनि हुन्छ ?

राजतन्त्रको समयमा राज्यको चौथो अंगका रुपमा स्वीकार्य आमसञ्चार र त्यसका कर्मशील सञ्चारकर्मीमाथि गरिएको दमन लोकतन्त्रिक गणतन्त्रमा सरकारले उस्तै गरी दोहोर्याएको छ । आम सञ्चार माध्यम र जनतालाई भ्रमित पार्ने काम नगर तिमीले । तिमीले केवल सुरेशलाई त्यो माहोलमा गएर फुटेज खिच्न बाध्य किन बनायौ ? यस्को जवाफ देऊ । हामीलाई तिम्रो बकमफुसे प्रश्न हैन । मिडिया मालिकका नाताले तिमीले आफ्नै मिडियामा काम गर्ने पत्रकारलाई देखाएको तानाशाहा पुर्ण व्यवहारको जवाफ चाहिएको छ । हामी लोकतन्त्रमा कलम चलाउने पत्रकार हौं हामीलाई भ्रमित पार्ने काशिश नगर ।

पत्रकार बिनु सुबेदीले २०६५ साल जेठ १४ गतेको एभिन्युज टिभिमा उनको रिपोर्ट बजेको कुरालाई साझा गर्दै लेखेकि छन्,“२०६५ साल जेठ १४ गते एभिन्युज टिभिमा मेरो रिपोर्ट बज्यो र त्यसको निष्कर्ष थियोस् दलहरूबीच रातभरमा कुनै असहमति भएन भने भोलि देशमा गणतन्त्रको सुनौलो विहानी आउनेछ। त्यसको केहिबेरमै भाष्कर राजकर्णिकार जंगिदै आए, कोट झिकेर टेबलमा बजारे र सोधेस् को हो यो गणतन्त्रको कुरा गर्ने ?

गणतन्त्रकै कुरा गर्न नपाईने ठाउँमा काम गर्न हुँदैन भन्ने लागेर मैले तुरुन्तै आईडिकार्ड बुझाएँ, निस्किएँ र त्यसपछि कहिल्यै फर्किईन । बरु मैले २ महिनाको तलब पनि माया मारेँ । हिजो पूर्व राजा पक्षधरको आन्दोलनलाई उकास्दै ठूल्ठूला मान्छेहरूले निकालेको विज्ञप्तिमा राजकणिर्कारको नाम देख्दा मलाई त्यस दिनको याद आएको थियो ।

हुन सक्छ, उनले आफ्ना कर्मचारीहरूलाई राजावादीहरूको आन्दोलनकै धेरै फोकस गर्न निर्देशन दिएका थिए । सायद हाम्रा सहकर्मी सुरेश रजक त्यहि दवावमा थिए र भाष्करहरूले नै उचालेका अराजकहरूले फुटाएको झ्यालबाट दृष्य कैद गरिरहेका थिए । पत्रकारहरू सधैं साहु र सम्पादकको दवावमा हुन्छन् । अर्को मिडियाले एक्स्क्लुसिभ गर्यो भने हामीलाई कुकुरलाई झैं गाली गर्छन् ।

पत्रकारले मरेर भए पनि उनीहरूका लागि खत्रा फुटेज ल्याइदिनुपर्ने मान्यता राख्छन् ।

एभिन्युज यसमा अझ बढि कट्टर छ । त्यो गालीबाट जोगिन सायद सुरेशले जोखिम लिए । त्यसैले, प्रहरीले सबैभन्दा पहिले आन्दोलनका नाममा अराजकता उक्साउने भाष्करहरूलाई पक्राउ गरोस् र अरू पत्रकारहरूलाई ुसुरेशु बन्नबाट जोगाओस्, सुरेशप्रति हार्दिक श्रद्धाञ्जली, परिवारमा गहिरो समवेदना ।” बिनुको यो स्टाटस् पढिसकेपछि पनि के तिमी आफुलाई सफाई दिनका लागी योग्यका ठानिरहेका छौ ?

मिडिया मालिकलाई खुशी बनाउने नाममा आफ्नो ज्यानको बाजी लगाएर सुरेशलाई मर्न बाध्य बनाउने तिमीमाथि दुरुत्साहनको मुद्या दायर गर्न म नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिललाई हार्दिक अपिल गर्दछु ।

आन्दोलनका नाममा वितण्डता मच्चाउने र अराजकताका लागी उक्साउने, संविधानको मानमर्दन गर्ने भाष्करराजहरूलाई कार्वाहीको माग गर्नु पनि लोकतन्त्रको सुन्दर पक्ष हो । चौथो अंगको नाममा पत्रकारलाई कार्वाही गर्न हुँदैन र मिल्दैन भन्ने छुट यहाँ कसैलाई पनि छैन अब । पत्रकार पनि मान्छे नै हुन् र मान्छेबाट नै कानूनको पालना हुँदैन भने तिनलाई कानूनको दायरमा ल्याउनै पर्छ । चाहे ती राज्यका चौथो अंग हुन् या फेरी आम नागरिक नै किन नहोऊन् ।

मालिकको अन्तरकुन्तरको मिसन, मिडियाकर्मी माझिनु पर्नेः संचार उद्यमीको आफ्नै विशेष खालका उद्येश्य पनि हुन्छन् । त्यो स्वभाविक हो । तर संचारकर्म र संचार सिद्धान्तका आधारमा कार्य गर्नु पर्ने सञ्चारकर्मीको न्यूनतम् मूल्यमान्यताः हो । यी दुवै परसपर भिन्नता भएपनि हालसम्म यिनै आधारमा सञ्चार कर्मीले कार्य गर्नु परेको छ । यसका कारण सञ्चार उद्यमीले सञ्चार सिद्धान्तलाई आफू अनुकूल उपयोग गर्दाको परिणामका शिकार रजक बन्न पुगे ।

मूलतः एकअर्का बीच पारसपरिक समबन्ध र विमति हुनु स्वभाविक नै हो । राजनैतिक गन्धमा सञ्चारकर्मीलाई उद्यामीले प्रयोग गर्नु खेद जन्य हो । यस प्रकारको घटना नौलो भने हैन । राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा हेर्दा पनि चाहे राज्य नियन्त्रक सञ्चार माध्यम हुन् वा व्यक्ति नियन्त्रण सञ्चार माध्यम हुन् । बेलाबखतमा मालिकको विशेष वैयक्ति स्वार्थ पूरा गर्नका लागी कार्य स्थलमा सञ्चारकर्मीले भोग्नु परेका दृश्य र अदृश्य पेशा, धर्म, कर्म भन्दा बाहीरका कार्य गर्नु पर्दा यस प्रकारका अप्रिय र अशोभनिय दुखःद घटनाहरु भोग्नु पर्ने निरन्तरतालाई अब पूर्ण विराम दिनका लागी सबै व्यवसायिक पत्रकारहरु जागरुक हुन बेला आएको छ ।

पत्रकार पहिलो सिकार हुनु पर्ने तर शारिरीक सुरक्षाविहिताः मुलुकमा हुने हरेक इभेन्टमा पत्रकार अग्रपंक्तिमा हुने गरेको यथाथ हो । पत्रकारले आफ्नो जिऊ ज्यानको बाजी लागएर मिडिया हाउसका लागी भन्दै समाचार संकलनका क्रममा आफ्नो सुरक्षा प्रत्याभूत समेत गर्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा सुरक्षा संयन्त्रको त कुरा छोडौं आफू संलग्न रहेको मिडिया हाउस र उस्का मालिकले समेत पत्रकारको सुरक्षामा ध्यान दिन सकेको अवस्था देखिदैन । यसैको उपज हो पत्रकार सुरेशको मृत्यु पनि ।

सेवा विहिनता भएपनि सुरक्षा पैरवीको रणनीति संगठनको भुमिकाः पत्रकारहरुको सुरक्षामा मिडिया हाउस र मिडिया मालिक गम्भिर नभएको अवस्थामा राज्य गम्भिर हुनु पर्ने अर्को कुरा हो । तर पत्रकारकै हकहीत र सुरक्षाका लागी पैरवी गर्ने भन्दै गठन गरिएको विभिन्न पेशागत संघसंगठनहरु पनि निरिह र गैर जिम्मेवार बनेको देख्न सकिन्छ । पत्रकारको पहिलो काम समाचार संकलन भएता पनि सुरक्षाका सवालमा अझैं पहिला ध्यान दिन पर्ने अवस्थामा यस्को पैरवी गर्ने र रणनीतिक योजना बनाएर पत्रकारलाई मैदानमा रिर्पोटिंगका लागी पठाउने तर्फ अहिलेसम्म नेपालका कुनैपनि मिडिया र तिनका मालिक र विभिन्न पेशागत संगठनहरुले ध्यान दिन सकेका छैनन् । पत्रकारका लागी यो निकै नै महत्वपुर्ण रणनीतिक बन्न नसक्नु आजको समयको दुर्भाग्य हो ।

संचारकर्मी, तिम्रो पेशा हो तर तिम्रो जीवनपनि नभुलः पत्रकार स्वयमले सञ्चार कर्मलाई पेशाको रुपमा ठान्नु पर्छ र यर्थाथ पनि यही हो । तर सञ्चार कर्मलाई पेशा ठानिरहंदा कर्म गर्ने क्रममा आफ्नो जीवन कर्मभन्दा माथि हुन्छ भन्ने कुरा बिर्सनु पनि हुँदैन । पहिला जीवन त्यसपछि मात्रै कर्म भन्ने सिद्धान्तलाई आम पत्रकारले आत्मसाथ गरेर अगाडी बढ्न नसक्दाको नतिजा हो सुरेशको मृत्यु । त्यसैले सञ्चार कर्म गरीरहंदा वा गराई रहँदा यी र यस्तै पैरवी, रणनीति, सुरक्षा ग्यारेन्टी र जीवनका बारेमा बुझ्न र सोही अनुसार सञ्चार कर्ममा तल्लिन रहन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस