शुक्रराज भण्डारी
अध्यक्ष– हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि.
नेपालमा २०१० सालमा सहकारी विभागको स्थापना संगै राज्यतवरबाट सहकारीले प्रवेश पाएको थियो ।
सहकारी ऐन २०४८ र नियमावली २०४९ भन्दा अगाडी सहकारी संस्था ऐन २०१६, सहकारी नियमहरु २०१८, साझा संस्था ऐन २०४१, साझा संस्था नियमावली २०४३ जस्ता कानून निर्माण गरेर सहकारी क्षेत्रको विकासका लागी केही काम गर्न कोसिस गरेको देखिन्छ । नेपालमा सहकारी ऐन २०४८ पछिको अबधिलाई सहकारी अभियानको बृद्धिको उर्वर समयको रुपमा हेरिन्छ र यो सत्य पनि हो । २०४८ पछिको समय सहकारीको विकासमा धेरै सकारात्मक योगदान रहेको कुरामा दुइमत छैन तर नेपालको सहकारी अभियानमा केही नकारात्मक परिणामहरु पनि यही अबधिमा देखिएका छन् । २०४८ भन्दा अगाडिको समय निकै सुशुप्त थियो तर त्यो अबधिमा कुनै सकारात्मक कार्य भएकै थिएनन् भन्ने कुरा भने गलत हो ।
२०४८ भन्दा अगाडीको अबधीमा कृषकका लागि राहतका प्याकेज, पुर्नवास, सहकारीका माध्ययबाट सामुदायिक विकासका कार्य, गाँउगाउँमा साझा सहकारी संस्थाहरुको स्थापना र ति संस्था सञ्चालनका लागि राज्यको लगानी, सार्वजनिक क्षेत्रमा सहकारी मार्फत सेवा प्रवाहको प्रयास जस्तो साझा यातायात, साझा पेट्रोलपम्प, साझा औषधी इत्यादी क्षेत्र मार्फत समुदाय संग सहकार्य गरेर राज्यले सार्वजनिक सेवा प्रवाह गर्न खोजेको देखिन्छ ।
निश्चत रुपमा ति धेरै सकारात्मक पहलकदमी थिए । तर ति सबै कुरा राज्यको सहयोग भन्दा नियन्त्रणको रुपमा हेरियो । राज्यले नागरिकलाई सहकारी अभियानका क्षेत्रमा अपेक्षाकृत रुपमा सहभागी गराउन सकेन । राज्यको नियन्त्रणको पक्षलाई सहयोगका रुपमा रुपान्तरण र व्यापक नागरिकको सहभागिता हुन सकेको भए सायद अहिलेको भन्दा नेपालमा फरक ढंगबाट सहकारी अभियानको विकास हुन सक्ने थियो कि ? इतिहासको फरक ढंगबाट समिक्षा र बिष्लेषण गर्नु पर्ने देखिन्छ ।
२०४८ को आम निर्वाचन पछि गठित सरकारका अर्थमन्त्री डा.रामशरण महतको माध्यमबाट नेपालमा नीजिकरण र आर्थिक उदारिकरणको नीतिले औपचारिक रुपमा प्रवेस पायो । फलस्वरुप राज्यद्धारा सञ्चालित नेपालका अधिकांश उद्योग तथा कलकारखानाहरु नीजिकरणका नाममा बन्द गरिए र वेरोजगार युवाहरुलाई अरब तथा मलेसियामा वैदेसिक रोजगारीमा पठाउन शुरु गरियो ।
कृषकलाई स्वरोजगारी, नेपाली श्रमिकलाई रोजगारी र देशलाई उत्पादन दिएका उद्योगको चेनलाई ध्वस्त बनाइयो । उदाहरणका लागि दाङ, बाँके, बर्दियाका किसानहरुको कपास खेती, उत्पादित कपास वुटवल धागो कारखानाबाट धागो उत्पादन, सोही धागोबाट हेटौडा कपडा उद्योगबाट कपडा उत्पादन र राष्ट्रसेवक कर्मचारीहरुले अनिवार्य रुपमा देशमै उत्पादन भएको कमडा लगानु पर्ने सरकारको नीति ।
यसरी एउटै उद्योगबाट एकैसाथ किसानमा स्वरोजगारी, मजदुरलाई रोजगारी र देशलाई उत्पादन दिने चेन ध्वस्त गर्ने काम नीजिकरणका नाममा गरियो । किसानले उत्पादन गरेको सुर्तिमा आधारित, उखुमा आधारित, दुधमा आधारित उद्योग, कृषि औजार बनाउने अद्योग लगायतका प्रायः सबै उद्योग ध्वस्ता गरियो । त्यसै गरी सहकारीका माध्यमबाट राज्य र नागरिकको पारस्पारिकता र सहकार्यका रुपमा विकास गर्न खोजिएका साझा यातायात, साझा पेट्रोलपम्प, गाउँगाउँका साझा सहकारी व्यवसायहरु पनि नीजिकरणका नाममा करिब करिब समाप्त नै गरियो । त्यस संगै नेपालको सहकारी अभियान सार्वजनिक सेवाबाट वाहिरियो र करिब करिब वित्तिय क्षेत्रमा मात्र संकुचन हुन पुग्यो ।
यहि पृष्ठभूमिमा २०६४ साल श्रावण ३१ गते हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको थियो । अरब तथा मलेसियाको बैदेसिक रोजगारीबाट फर्किएका, दाङको सिमा संग जोडिएका पहाडी जिल्लाबाट काम र मामको आशमा दाङ झरेका तर अभावको जिवन व्यतित गरिहरेका र सदियौं देखि शोषण र वेरोजगारको जिवन वाँचिरहेका तर सामाजिक रुपमा सचेत समाजिक व्यत्तित्वहरुको पहलमा सबैको जिवन रुपान्तरणका लागि “हामी केही गरौं” भन्ने मूल थिमका साथ यो संस्था स्थापना गरिएको थियो ।
संस्था स्थापनाको पहिलो बर्ष मै सहकारी पेट्रोलपम्प व्यावसायको शुरु गरियो । निकै बिपन्न मान्छेहरुको समुहले धेरै लगानी चाहिने पेट्रोलियम पदार्थको कारोवार १ धेरै मान्छेहरु र सहकारी क्षेत्रकै अभियान्ताहरु समेतले यो कल्पना गरेका थिएनन् । धेरै नागरिक एक ठाउँमा आएर उनीहरु संग रहेको सानो सानो पूँजी एकिकृत गर्दा ठुला व्यवसायहरु समेत सहकारीका माध्यमबाट गर्न सम्भव हुने कुराको आयाम नेपालको सहकारी अभियानमा हाम्रो पहुँचले स्थापित गर्यो । त्यति मात्र होइन वित्तिय क्षेत्र र परम्परागत कृषि क्षेत्र भन्दा बाहिर सहकारी क्षेत्रले सोच्न समेत हुदैन भन्ने सोंचलाई तोड्दै सार्वजनिक सेवाको क्षेत्र समेत सहकारीहरुको क्षेत्र हो भन्ने उद्घोष हाम्रो पहुँचले गर्यो ।
अत्यन्त सानो पूँजीबाट शुरु भएको संस्थाले २०६४ देखि बचत तथा ऋण, २०६५ मा सहकारी पेट्रोलपम्प, २०६७ मा रेडियो हाम्रो पहुँच, २०७० मा हाम्रो पहुँच माध्यमिक विद्यालय, २०७६ मा डेरी उद्योग, २०८१ मा कृषि तथा मार्ट जस्ता बहुउद्देश्यीय प्रकृतिका व्यवसायहरु सञ्चालन गर्न पुगेकोछ । यसरी संस्थाले सार्वजनिक सेवा, उत्पादन, बजारिकरण र बित्तिय सेवाका कार्यहरु एक साथ अगाडी बढाएको छ । बास्तवमा साझा संस्था ऐन २०४१ ले परिकल्पना गरेको राज्य र सहकारी संस्थाहरुको सहकार्यमा नागरिकलाई पुर्याउन खोजेको सार्वजनिक सेवाको अबधारणा हाम्रो पहुँचले पुर्नस्थापित गरिदिएको छ ।
विस्थापित गरिएका बस्तुमा समेतसकारात्मक पक्ष पनि अन्तरनिहित हुन्छ । त्यस अबधीमा समेत स्थापित गर्न खोजिएको सकारात्मक पक्षलाई हाम्रो पहुँचले अगाडी बढाएर सहकारीको वास्तविक मर्मलाई अंगिकार गरेर नेपालको सहकारी अभियानमा नयाँ दिशा निर्देश गरेको छ ।
सहकारी व्यवसाय आफैमा सामुदायिक व्यवसाय हो । समुदायको लगानी, स्वामित्व, व्यवस्थापन र नेतृत्व सामुदायिक व्यवसायका आधारहरु हुन । विश्वमा सामुदायिक व्यवसाय सञ्चालनका धेरै अभ्यासहरु छन् तर नेपालमा यसको इतिहास धेरै लामो र सफल छैन । सामुदायिक व्यवसायले नाफा भन्दा सामुदायिक हितलाई केन्द्रमा राखेर काम गर्नु पर्दछ । नेपालमा सामुदायिक व्यवसायको औपाचारिक क्षेत्र सहकारी संस्थाहरु नै हुन ।
स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योग, यातायात, आपुर्ति, नागरिक सूचना जस्ता क्षेत्रहरु नागरिकका प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरु हुन । नागरिकका प्रत्यक्ष सरोकार राख्ने क्षेत्र सकेसम्म राज्यको नियन्त्रण र व्यवस्थापनमा रहनु पर्दछ । यदि राज्य कम्जोर अबस्थामा भयो र अन्य पक्ष संग सहकार्य गर्न पर्ने स्थिति भयो भने राज्यको सहकार्य सहकारी क्षेत्र संग हुनु पर्दछ ।
तर नेपालमा २०४८ पछिको आर्थिक उदारिकरणको वाढीले सबै सार्वजनिक क्षेत्र ध्वस्त मात्रै बनाएन् सहकारी क्षेत्रलाई समेत एउटा नीजि क्षेत्र जस्तो हैसियतमा राखिदियो । हाम्रो पहुँचले सामुदायिक क्षेत्रको हैसियतले सहकारी पेट्रोलपम्प, रेडियो हाम्रो पहुँच र हाम्रो पहुँच माध्यमिक विद्यालयका माध्यमबाट सार्वजनिक सेवाको क्षेत्र सहकारी अभियानमा प्रवेश गराएर अभियानको क्षेत्रलाई विस्तार गर्न योगदान गरेको छ ।
२५ जना सदस्य र ४ हजारको पूँजीबाट शुरु भएको संस्था हाल सम्म आईपुग्दा करिब ५ हजार सदस्य संख्या, ३४ करोड पूँजी र एक अर्बको कारोबार गर्ने संस्थाको रुपमा हैसियत स्थापित गर्न सफल भएको छ ।संस्थाले २०७६ मा पहिलो पञ्चबर्षिय रणनीतिक योजना निर्माण गरी व्यवस्थित र योजनाबद्ध बृद्धि र विकासका कार्यहरु गर्दै आएको छ ।
निश्चित उद्देश्य अनुसार निर्धारित लक्ष प्राप्त गर्न योजनाबद्ध कार्य गर्दा मात्रात्मक होइन गुणात्मक विकासको अबधारणा अनुसार अगाडी बढ्न सकिने हाम्रो अनुभवले बताउछ । एक जना सामान्य कर्मचारीबाट शुरु भएको संस्थाले अहिले १ सय ११ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।
नीजि व्यवसायमा नाफा प्रमुख प्राथमिकतामा रहन्छ । शिक्षा, स्वास्थ्य, यातायात जस्ता नागरिकका आधारभुत सेवा व्यापरिकरण भई नागरिकका आधारभुत सेवाबाट राज्य पछाडी हट्दै जाँदा सामुदायिक क्षेत्र अगाडी आउनु आजको समयको आबश्यकता हो । हाम्रो पहुँचले शुरु गरेर एउटा मानक स्थापित गरेका छ र अब धेरै संस्थाहरु यसरी नै आउन आबश्यक छ ।
सहकारी संस्थाहरुका नीति, कार्यक्रम र योजनाहरु समुदाय तथा सदस्यको जीवन संग जोडिनु पर्दछ ।
हाम्रो पहुँचमा कार्यरत सबै कर्मचारी सदस्य वा सदस्यका परिवारका सदस्य मात्रै छन् हरेक महिना १ सय ११ जना कर्मचारी मार्फत झन्डै ३४ लाख रुपैया सदस्यको घरमै जान्छ । सदस्यमा उद्यमशिलता विकास गर्नका लागि संस्थाले नियमित तालिम सञ्चालन गर्दछ, सोबाट धेरै सदस्यहरु नियमित आयआर्जनमा जोडिदै गएका छन् । विद्यालय मार्फत धेरै अभिभावक सदस्यको खर्च कम हुँदा रकम बचत हुन गएको छ । डेरी मार्फत सदस्यको उत्पादनको बजारीकरण हुँदा कृषक सदस्यले उत्पादनको बढी मुल्य प्राप्त गरेका छन् । समग्रमा संस्थाले सदस्यको हित र सामुदायिक उन्नतीको कार्य गर्ने गरेको छ ।
संस्थाले सदस्यलाई के कुरामा जोड गरिरहेको छ भने तपाईले गरिरहेको कामलाई कमाई हुने गरी गर्नुस् र आयबृद्धि गर्नुस् त्यसका लागि सबै प्रकारको सहयोग गर्न संस्था तत्पर छ । आयबृद्धि गर्दैमा हाम्रो जीवन रुपान्तरण हुदैन जीवन रुपान्तरण गर्नका लागि कमाईको निश्चित अंश बचत गर्न सिकाउनु हो । संस्थाले सदस्यहरुलाई कमाई गर्न र बचत गर्न दुबै कुराका लागि प्रेरित गरिरहेकोछ ।
संस्थाको महत्वाकांक्षा के रहेको छ भने हाम्रो पहुँचमा आबद्ध भएको सदस्यको जीवनमा निश्चित समय पछि गरिबी र वेरोजगारी रहनु हुदैन । प्रत्यक्ष रोजगारीका लागि संस्थाका व्यवसाय बृद्धि गरी रोजगारीको सृर्जना गर्ने र व्यापक मात्रामा स्वरोजगारी सृर्जना गरी सदस्यको आयबृद्धी गर्ने संस्थाको दुरदृष्टी रहेको छ । अर्कातर्फ सदस्यले गरेको बचतमा संस्थाले अधिक्तम् योगदान गर्ने । त्यो भनेको लामो अबधिका बचत रकममा अपरिबर्तनिय व्याज दर । उदाहरणका लागि कुनै एक जना सदस्यले मासिक ५ हजार बचत नियमित रुपमा २० बर्ष गर्दछ भने उसको बचत खातामा ३५ लाख बचत रकम बन्दछ ।
उसले संस्थामा जम्मा गरेको मूलधन त मात्र १२ लाख हो । १२ लाखलाई ३५ लाख बनाउन संस्थाले व्याजमा सदस्यका लागि बिशेष योगदान गर्नु हो । यसरी खातामा ३५ लाख हुने सदस्यलाई सो रकम आफ्ना सन्तानका लागि बचाई राख्न चाहेमा संस्थाले उनिहरुको निबृर्त जिवनयापनका लागि मासिक २८ हजार पेन्सन उपलब्ध गराउने नीति बनाएको छ । संस्थाले बचतका यस्ता १८ वटा प्रोडक्टहरु बनाएको छ । संस्थाको सोचाइ के छ भने अहिलेको आम नागरिकको आर्थिक स्थिति अनुसार ३५ लाख रुपैया नगद र २८ हजार रुपैया मासिक पेन्सन पाउने नागरिकको जीवनमा गरिबिको अन्त्य हुनेछ ।
गरिबिको अन्त्य मात्रै हुने छैन योगदानका आधारमा अनऔपचारिक क्षेत्रका नागरिकहरु पनि बृद्ध हँुदा ठुलो संख्यामा मासिक पेन्सन सुविधा पाउने हुनेछन् ।
शेयर लगानीका आधारमा होइन, कारोवारका आधारमा मात्र सदस्यलाई प्रतिफलको वितरण गर्ने दुर योजना अनुसार संस्थाले काम गरिरहेकोछ । उत्पादन, बजारीकरण, वित्तिय सेवा र नागरिकका अत्यावश्यक सेवाका विविध क्षेत्रमा काम गर्ने र सदस्य र समुदाय मात्र होइन राष्ट्रको आर्थिक विकासमा योगदान गर्ने लक्ष अनुसार संस्था अगाडी बढिरहेको छ ।
सोहि अनुसार संस्थाले दिर्घकालिन र अल्पकालिन नीति, कार्यक्रम, योजना बनाएको छ । अबको ५ बर्ष, १० बर्ष वा २० बर्ष पछिको हाम्रो उपस्थिति कहाँ र कुन रुपमा हुनेछ, हामीले स्पस्ट भिजिविलिटी निर्माण गरेर बाटोलाई फराकिलो बनाउदै अगाडी बढिरहेका छौं ।
हाम्रो पहुँचमा नेतृत्वको निरन्तरतामा बिषयमा थोरै आन्तरिक र अलि बढी बाहिर पनि चर्चा हुने गरेको छ । सहकारी संस्था अविछिन्न, उत्तराधिकारवाला, स्वायत्त र स्वसाशित संस्था हो । पुस्ता हस्तान्तरण हुदै जान्छ तर संस्था अविछिन्न रुपमा अगाडी बढिरहन्छ । कसैले चाहदैनमा यसको अन्त्य वा विघटन हुन सक्दैन । मूल नेतृत्व भनेको उद्देश्य वा विचारको नेतृत्व हो, व्यक्ति प्रधान हुदैन । आफ्नो संस्थाको नीति कस्तो हुने र नेतृत्व कसले गर्ने ? त्यसको निर्णय सदस्यले मात्र गर्न पाउछन्, गैर सदस्यले चासो दिनु सार्न्दभिक मानिदैन ।
कुनै संघ/संस्था वा देशको विकासको गति निरन्तर रुपमा अगाडी बढ्नका लागि नेतृत्वको निरन्तरताले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी सिंगापुरको कुरा गर्ने गर्दछौं । आजको विकसित र संबृद्ध सिंगापुर निर्माणका लागि ली क्यान यु को नाम बिशेष रुपमा आउने गर्दछ । उनी ३१ बर्ष लगातार सिंगापुरको प्रधानमन्त्री भएका थिए ।
उनकै कार्यकालमा सिंगापुरलाई गरिब बन्दरगाह शहरबाट विश्वकै धनी राष्ट्रमा रुपान्तरण गरेका थिए । त्यसै गरी आजको मलेसियालाई संबृद्ध मलेसिया बनाउन २४ बर्ष डा.महाथिर विन मोहम्मद लगातार प्रधानमन्त्री हुनु परेको थियो । उनले कृषिमा आधारित मलेसियालाई औद्योगिकरण गरी आधुनिक मलेसियाको निर्माण गरेका थिए । त्यसैगरी नेपाल पछि पर्नुको एउटा मुख्य कारण स्थिर सरकार नहुनु हो भन्ने बलियो तर्क रहने गरेको छ । केहि समय अगाडी मात्रै सुशासन र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग राखेर जेनजी आन्दोलन समेत हुनुले नेतृत्वको निरन्तरताको निकै ठुलो महत्व भएको कुरालाई प्रमाणित गर्दछ ।
सहकारी अभियानमा नेतृत्वको कुरा गर्दा पुरा भारत र विश्वस्तरमा समेत प्रभाव पार्न सफल अमुल सहकारीलाई नै लिन सकिन्छ । गुजरातको सानो भुगोलमा सिमित दुग्ध संकलनलाई, सहकारीताको माध्यमबाट विशला भुमिका निर्वाह गर्ने संस्थाको हैसियत प्राप्त गर्न त्रिभुवनदास किसिभाई पटेल २७ बर्ष लगातार अध्यक्ष र डा.वर्गीज कुरियन लगातार ३३ बर्ष प्रमुख कार्यकारी अधिकृतको निरन्तर नेतृत्वले त्यो सफलता प्राप्त गर्न सम्भव भएको कुरा प्रस्ट नै छ ।
त्यसै गरी संयुक्त राज्य अमेरिकामा सहकरीको नेटवर्क, व्यवसाय, सामाजिक र आर्थिक समानताको प्रबृद्धन गर्न, किसान सहकरी, उपभोक्ता सहकारी र श्रमिक सहकारीलाई राष्ट्रिय स्तरको हैसियतमा विकास गर्न लगातार २५ बर्ष नेतृत्वमा रहेर काम गर्नु परेको थियो । नेपालमा समेत ठुलो आकारमा काम गरिहेका सहकारी संस्थाहरुमा स्थिरता, विकास र संबृद्ध सहकारी संस्थाको हैसियत प्राप्त गर्न लगातार लामो समय सम्म त्यागपूर्ण योगदान र निरन्तर नेतृत्वको प्रभाव रहेको देखिन्छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि. एकल उद्देश्य वा सामान्य कामका लागि स्थापना भएको सहकारी संस्था होइन । धेरै सहकारी संस्थाहरु टोलविकास संस्था जस्तो भन्दा माथि उठेर काम गर्न सकिरहेको स्थिति छैन । यहि पृष्ठभूमिका त्यहि रुपमा सोच्नु गम्भिर गल्ती हुन सक्छ । लगातार राजनीतिक नेतृत्वमा बसेर कुसाशन दिएका भ्रष्ट राजनीतिक नेताहरु संग तुलना गर्ने अपराध त कसैबाट हुनै सक्दैन ।हामीले दुर क्षितिज सम्म पुग्ने अठोटका साथ काम गरिरहेका छौं । भिरपहराको बाटो हुदै, गोरेटो बनाउदै, कच्ची, ग्राविल, हुदै सानो पक्कि सडक सम्म आई पुगेका छौं ।
हामीले देखेको सपना पुरा गर्न ठुलो आकारको सडक हुँदै स्वचालित साधानबाट अगाडी बढ्नु छ । यो सपनाको शिखर चुम्नका लागि अरु धेरै बाधा, अड्चन र चुनौतीको सामाना गर्नु छ । यी चुनौतीहरुको सामाना गर्दै लक्ष्य सम्म पुग्नका लागि अनुभवी, द्रृढ, धैर्यवान र काम प्रति सर्मपित सामुहिक नेतृत्व चाहिन्छ । नेतृत्व समय, आबश्यकता, पस्थिति र कामले सिर्जना गर्दछ । नेतृत्वलाई खासमा व्यक्तिको निरन्तरताको रुपमा मात्र हेर्नु हुदैन, संस्थाको दुरदृष्ट्रि, उद्देश्य, बृद्धी, विकास र लक्ष्यको निरन्तरताको रुपमा हेरियो भने मात्र सही निश्कर्षमा पुग्न सकिनेछ ।
जय सहकारी, जय हाम्रो पहुँच ॥










