राजाकोट दाङ जिल्लाको चुरे पर्वतमालामा अवस्थित एक अनुपम प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक स्थल हो । साविक गोल्टाकुरी गा.वि.स., हाल दंगीशरण गाउँपालिका–२ मा पर्ने यो स्थान समुद्री सतहबाट करिब १ हजार ५५६ मिटर उचाइमा फैलिएको छ । घना जंगलको बीचभागमा स्थित राजाकोटकहाँ तुलसीपुर बजारबाट झण्डै २५ किलोमिटर दक्षिणतर्फको यात्रा र अन्तिम ५ किलोमिटर पैदल हिँडेर पुग्न सकिन्छ । राजाकोट सामुदायिक वनमा अवस्थित छ भने राजाकोट प्रकृति, इतिहास र सांस्कृतिक मूल्यको मिश्रण भएकाले अध्ययन, अनुसन्धान र पर्यटन तीनै दृष्टिले महत्वपूर्ण मानिन्छ ।
ऐतिहासिक पृष्ठभूमि
राजाकोट केवल पहाडको टाकुरा मात्र होइन, यो दाङ उपत्यकामा ११औँदेखि १५औँ शताब्दीसम्म शासन गरेका भुरेटाकुरे राजाहरुको जीवनशैली र शासन प्रणालीसँग गहिरो सम्बन्ध बोकेको खुला खुलेको ऐतिहासिक संग्रहालयजस्तै स्थान हो ।

सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा चुरेको लेकमा रहेका राजाकोटमा बस्ने गर्थे । यही कारण यस स्थानको नाम “राजाकोट” रहन गएको मानिन्छ । थारु भाषामा ‘कोट’ शब्दलाई ‘रज्वाकोट’ भनिनु पनि यसैको सांस्कृतिक प्रमाण हो ।
राजा दंगीशरणको सिकार खेल्ने मैदान, नुहाउने स्थान, दरबारका भग्नावशेष, ढुंगाले बनेका संरचनाहरू आज पनि इतिहास बोकेर उभिएका छन् । बुलबुल्या तालमा राजा–रानी स्नान गर्ने गर्थे भन्ने थारु समुदायको कथन आजसम्म ज्यूँदो छ । माघे संक्रान्तिमा सन्तानप्राप्तिको कामना गर्दै त्यहाँ नुहाउने प्रचलन आज पनि कायम छ ।
यसबाहेक, धनटाकुरा क्षेत्रमा राजा दंगीशरणले आफ्नो धन–सम्पत्ति गाडेको जनविश्वास छ, जहाँ अहिले पनि पुराना माटाका भाँडाका टुक्रा र इँट्टाका अवशेष भेटिन्छन् । कुकुरगौडा, तिलकन्याको कोट, पाथीभरे लगायतका स्थानहरूसँग जोडिएका पौराणिक कथनले यस क्षेत्रलाई झनै रोचक बनाउँछन् ।
भू–दृश्य र प्राकृतिक आकर्षण
राजाकोटको चुचुरोबाट देखिने दृष्य अद्वितीय छ । दक्षिणतिर नेपालगञ्ज र भारतीय मैदानी भू–भाग, उत्तरतिर महाभारतका श्रृङ्खला, स्वर्गद्वारी र ऐतिहासिक गढी, पूर्व–पश्चिम फैलिएको चुरे वनजंगल, नागबेलीझैँ बगेको राप्ती र बबई नदी यी सबैले राजाकोटलाई अवलोकन गर्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
विगतमा नेपालगञ्ज–दाङ आवतजावत गर्ने पैदल मार्ग पनि यही क्षेत्रबाट हुन्थ्यो । जंगल, गोठाला, घोडेस्वार र व्यापारीहरूको आवाजले गुञ्जिएको यो क्षेत्र आज शान्त छ, तर प्रकृतिको मौलिकता भने अझै उस्तै छ ।

‘राजाकोट हाईकिङ’ र नयाँ उत्साह
२०८२ कार्तिक १ गते गोल्टाकुरीका युवाहरुले आयोजना गरेको “राजाकोट हाईकिङ” कार्यक्रममा दंगीशरण र तुलसीपुरबाट २५० भन्दा बढी सहभागी भेला भए । यसले राजाकोटको पहिचान पुनः स्थापित गर्यो र स्थानीय विकास, संरक्षण तथा पर्यटकीय सम्भावना खोज्ने नयाँ ऊर्जा प्रदान गर्यो । अहिले दैनिक रुपमा ४–६ जना पर्यटक यहाँ भ्रमणमा आउनेक्रम बढ्दो छ । तर, बाटोहरूमाथि झाडी बढ्नु, राजाकोट जाने साइनबोर्डको अभाव, खाने–बस्ने सुविधाको व्यवस्था नहुनु जस्ता चुनौतीले व्यवस्थित पर्यटन विकास अवरुद्ध भएको छ ।
पर्यटकीय सम्भावना
राजाकोटमा आधारभूत पूर्वाधार निर्माण र प्रचारप्रसार गरेमा निम्न प्रकारका पर्यटन गतिविधि सहजै विकास हुनसक्छन् :–
पदयात्रा (ट्रेकिङ),जंगल वाक र क्याम्पिङ, होमस्टे तथा सामुदायिक पर्यटन,घोडा–सवारी अनुभव,थारु जातिको जीवनशैली, कला र संस्कृतिको अवलोकन, भूगर्भ, इतिहास, जैविक विविधता सम्बन्धी अनुसन्धान, शैक्षिक भ्रमण र अध्ययन–अध्यापन कार्यक्रम प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वले यो क्षेत्र दाङकै मुख्य आन्तरिक पर्यटन केन्द्र बन्नसक्ने अत्यधिक सम्भावना बोकेको छ ।
राजाकोट विकासको चरण
अल्पकालीन (१–२ वर्ष) मा पैदलमार्ग (ट्रेल) मर्मत, साइनबोर्ड, सूचना पाटी र दिशासूचक व्यवस्था, स्थानीय युवाहरूलाई गाइड तालिम, वार्षिक “राजाकोट उत्सव” आयोजना, सिनवाङ, कलङखोला र कौवाघारीलाई बेस क्याम्पको रुपमा निर्माण, कोप्चिखोला, चुमपले, कोट्टे साज, स्याले स्थानमा विश्राम स्थाल निर्माण भयो ।
मध्यमकालीन (३–५ वर्ष) मा स्थायी ट्रेकिङ मार्ग निर्माण, दिगो विश्रामस्थल विकास, पर्यटन सूचना केन्द्र स्थापना, “राजाकोट–तिलकन्या” पदमार्गलाई आधिकारिक ट्रेल घोषणा भयो । यस्तै दीर्घकालीन (५ वर्ष+) वर्षमा राजाकोटलाई “स्थानीय/आन्तरिक पर्यटन गन्तव्य” घोषणा, होमस्टे तथा सामुदायिक पर्यटन विस्तार, ऐतिहासिक संरचनाहरूको संरक्षण तथा उत्खनन भयो ।
अवसरहरू
पदयात्रा (ट्रेकिङ) मार्ग स्तरोन्नति गरी ट्रेल घोषणा गर्ने, राजाकोट–तिलकन्या–कुकुर, घोडा पदमार्गलाई आधिकारिक “हेरिटेज ट्रेल” बनाउन सकिने, होमस्टे, गाइड सेवा, पोर्टर, घोडा–सवारी सेवा सञ्चालनबाट स्थानीय युवालाई रोजगार, स्थानीय कृषिउत्पादन, फलफूल, जडीबुटी, हस्तकला र परम्परागत भोजनलाई बजारिकरण, सामुदायिक पर्यटनमार्फत महिला, युवाहरू र स्थानीय संस्थाहरूलाई आयमूलक, थारु समुदायको संस्कृति, नाच, गीत, परम्परा, घर–व्यवस्था र स्थानीय भोजनलाई पर्यटकीय ।

आकर्षण बनाउन सकिने ।
बुलबुल्या ताल, दंगीशरण राजा, रजौटा परम्परा तथा प्राचीन पदमार्गलाई ‘कल्चरल सर्किट’ बनाएर पर्यटन प्रवद्र्धन गर्ने, वार्षिक “राजाकोट उत्सव” मार्फत सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने, भूगर्भ, वातावरण, जैविक विविधता, चुरे संरक्षण र मानव इतिहासको संयुक्त अध्ययन गर्ने, विश्वविद्यालय, विद्यालय र अनुसन्धान संस्थाहरुका लागि शैक्षिक भ्रमण स्थल, पुरातात्त्िवक अवशेष उत्खनन र संरक्षणमार्फत दाङको प्राचीन इतिहास उजागर गर्ने, चुरे संरक्षण र पर्यटनलाई एकसाथ जोडेर “इको–टुरिज्म”का उत्कृष्ट उदाहरण बनाउन सकिने, स्थानीय समुदायलाई सहभागी बनाएर सामुदायिक वन पर्यटन स्थापना गर्ने सम्भावना,जंगली जनावर, पक्षी अवलोकन र जंगल–वाकमार्फत दिगो पर्यटन विस्तार, राजाकोटलाई दाङको दक्षिण–पूर्वी पर्यटन केन्द्रको रूपमा विकास गर्दै आसपासका गाउँहरूमा आर्थिक चहलपहल बढाउने, तुलसीपुर, दंगीशरण र नेपालगञ्जसम्म जोडिने पर्यटन र व्यापारिक नेटवर्क निर्माण, निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीच सहकार्य गरेर ठूलो आर्थिक प्रभाव सिर्जना गरेर आकर्षण बनाउन सकिन्छ ।
राजाकोट इतिहास, प्रकृति, संस्कृति र समुदायको अद्भुत संगम हो । यथोचित योजना, पूर्वाधार र प्रचारप्रसार मिलेमा यो क्षेत्र दाङ मात्र होइन, लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने क्षमता राख्छ ।
हामी सबैको साझा प्रयास र संरक्षणप्रतिको प्रतिबद्धताले मात्र राजाकोट भविष्यका पुस्ताका लागि “जीवित इतिहास” र “साँच्चिकै प्रेरणादायी गन्तव्य” हुनेछ ।












