दशैँको पावन अवसरमा मेरो तर्फबाट सम्पूर्ण नेपालीलाई अनगिन्ती शुभकामना । विदेशको परदेशी भूमिमा रहँदा, यो समय विशेष रूपमा मेरो मनमा नेपाल र त्यसका चाडपर्वहरूसँगको गहिरो सम्बन्ध र सम्झनाहरू आउँछ ।
विदेसिएको लामो समयपछि यहाँ लेख्दै गर्दा, मेरो मस्तिष्कमाथि सबै सम्झनाहरू घुमिरहन्छन् । जुन मैले नेपालमा बिताएका थिएँ, विशेष गरी रेडियोमा काम गर्दा, चाडपार्वका अवसरहरूमा ।
नेपालका पर्वहरूको महत्व केवलहर्ष र उल्लासमामात्र सीमित छैनन । बरु ती प्रत्येक पर्वले हाम्रो जीवनलाई एक महत्वपूर्ण सन्देश दिन्छन । दशैँ जस्तो पर्व, जसले हामीलाई परिवारको एकता, समाजको स्नेह र मानवता कति महत्त्वपूर्ण छन् भन्ने कुरा सम्झाउँछ ।
त्यसको आनन्द हामी सबै मिलेर मनाउँछौं । नेपालमा बस्दा हामीले चाडपर्वका गीत, कथा र परम्पराहरूलाई एक अर्कासँग साझा गर्दै हामी त्यो समयको महत्वलाई महसुस गर्थ्यौं । विदेशमा हुँदा, त्यो सबको कमी निकै भएको छ ।
तर त्यो सम्झनामा मैले रेडियोको अनुभवलाई कहिल्यै बिर्सन सक्दिन । रेडियो केवल एउटा संचार माध्यममात्र होइन, त्यो हाम्रो जीवनको अभिन्न हिस्सा बनेको थियो । कुनै बेला हामी रेडियोमा काम गर्दा, विशेष गरी दशैँ र अन्य चाडपर्वका अवसरमा, त्यहाँको वातावरण कस्तो रमाइलो र उत्साहित हुने गर्थ्यो, त्यो सम्झँदा अझै मन भावुक हुन्छ । दशैँ र तिहारका विशेष दिनमा, बिहान र साँझको समयमा मात्र हामी समाचार दिन्थ्यौं भने, विशेष कार्यक्रमहरू रेडियोको प्रसारण अवधिभर चलाउँथ्यौं ।
चाडपर्वका दिन, रेडियो विशेष कार्यक्रम सञ्चालन गर्दा, हामीले चाडपर्वको महत्व, परम्परागत गीतहरू, र विशेषताबारे जानकारी दिन्थ्यौं । श्रोताहरूसँग हाम्रो संवाद र चाडपर्वको बारेमा हर्ष र उल्लास बाँड्ने अवसर बन्थ्यो ।
श्रोताहरूसँग हामीले दशैँको महत्व, टीका र जमरा लगाउने परम्परा र यसको सांस्कृतिक सन्देश बारे विस्तारमा बताउँथ्यौं। रेडियोमा फोन गर्दा, श्रोताहरूको उत्साह र चाडपर्वको खुसी सँगको संवादले हामीलाई अझ नजिक ल्याउँथ्यो।
प्रत्येक फोनलाइनमा गुम्सिएका श्रोताहरूको आवाज, घरको माहौल र त्यहाँको उत्सवलाई सँगै अनुभव गर्न पाउँदा निकै खुशी लाग्थ्यो।
यसका साथै, चाडपर्वमा विशेष रुपमा फोन कार्यक्रम चलाउने हाम्रो परम्परा जस्तै बनेको थियो।
श्रोताहरूसँग सीधा कुरा गर्दा, त्यो समय कति रमाइलो थियो भन्ने कुरा शब्दले व्यक्त गर्न गाह्रो छ । श्रोताहरू हामीसँग आफ्नो घरको याद, त्यो विशेष चाडको तयारी र परम्पराका बारेमा कुरा गर्थे ।
त्यो आवाज, त्यो सन्देश र त्यो रमाइलो हाम्रो रेडियो कार्यक्रमको प्रमुख अंश बनेको थियो । विदेशमा रहँदा, त्यो सब सम्झिँदा मनमा हर्षको साथै एक खालको खालीपन पनि महसुस हुन्छ ।
दशैँको टीका र जमरा, नेपालका गाउँका प्रत्येक सानो–ठूला पर्वहरू र रेडियोमा चाडपर्वको महत्व बताउने ती कार्यक्रमहरू – सबै कुरा याद आउँछन्।
रेडियोका माध्यमबाट हामीले प्रत्येक चाडको विशेषता र नेपाली समाजको एकता र सद्भावको कुरा साझा गर्थ्यौं ।
चाडपर्वको समय हाम्रो देशमा विशेष महत्व राख्छ । विशेष गरी दशैँको बेला, जब प्रत्येक घरमा टीका र जमरा लगाइन्छ । परिवारका सदस्यहरू सँगै बस्छन् ।
त्यो समयको महत्त्व हामी रेडियोको माध्यमबाट श्रोताहरूसम्म पुर्याउँथ्यौं। त्यो समयको सौन्दर्यले हामी सबैलाई एकजुट बनाउँथ्यो। विदेशमा हुँदा, त्यो सबै सम्झँदा घरको आँगनमा फैलिएको हर्ष र उल्लासको त्यो अभाव सधैं हुन्छ ।
नेपालका पर्वहरूले हाम्रो सांस्कृतिक धरोहरलाई जोगाइ राख्नमात्र होइन, हामीलाई एकअर्कासँग जोडेर पनि राख्छन्।
रेडियोका माध्यमबाट हामीले चाडपर्वका गीत, कथा र संस्कृतिका बारेमा जानकारी दिँदा, त्यो दिनको खुशी र रौनक घरघरमा फैलाउँथ्यौं। त्यतिबेला हामी सबैसँग त्यो बन्धन र स्नेहको डोरी थियो, जसले हामीलाई रेडियो कार्यक्रममा सँगै बाँधेर राख्थ्यो।
आज, यो दशैँको अवसरमा म विदेशबाट सम्पूर्ण नेपाली समाजसँग चाडपर्वको महत्व सम्झाउन चाहन्छु । नेपालका पर्वहरू हाम्रो पहिचान र जीवनको आधार हुन् । चाँडै त्यो समयफर्केर, हामी विदेसिएकाहरु फेरि सँगै चाडपर्व मनाउने दिनको आशा लिएका छौं। नेपालका पर्व, संस्कृति र हाम्रो माया सधैं हाम्रो हृदयमा जीवित रहनेछन् ।
शुभदशैँ
–लेखक तुल्सीराम वली तुलसीपुर–१९ निवासी हुनुहुन्छ । हाल उहाँ अमेरिकामा बसोबास गरिरहनुभएको छ ।














