
दाङ, २५ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुमा आइतबार साँझ एक निर्माणाधीन घरको आँगनमा प्रेसर कुकर जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ ।
स्थानीय धनबहादुर चन्दको घरको आँगनमा भेटिएको उक्त वस्तु २ लिटर क्षमताको प्रेसर कुकरमा सिटिको भागमा कालो टेप लगाई घोप्टो पारिएको अवस्थामा राखिएको थियो । त्यसको छेउमा “खतरा” लेखिएको कापीको पाना इट्टाले च्यापेर राखिएको थियो ।
घटनाबारे चन्दले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । नेपाली सेनाको १९ नं. बाहिनी अड्डाबाट सेनानी रामभक्त आचार्यको कमाण्डमा ९ जनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको थियो ।
टोलीले साँझ पौने सात बजे उक्त संकास्पद वस्तु निस्क्रिय पारेको हो । बम डिस्पोजलको क्रममा कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
हालसम्म उक्त संकास्पद वस्तु कसले र किन राखेको भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।