
दाङ, २८ चैत ।
गएराती पानीसंगै आएको हावाहुरीले ठाउँठाउँमा क्षति गरेको छ । हावाहुरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा किसानले लगाएको र बनमा भएको सुगन्ध कोकिलामा क्षति गरेको हो ।
स्थानीय अगुवा परबीर पुनका अनुसार १०५ घरधुरीले लगाएको र बनमा भएको सुगन्ध कोकिलामा क्षति भएको हो । सुगन्ध कोकिला अर्थात मालागेडी छिल्लीकोटका नागरिकको प्रमुख आम्दानीको स्रोत हो ।
सुगन्ध कोकिलाबाट छिल्लीकोटका किसानले वार्षिक करिब डेढ करोडबढी भित्र्याउने गरेका छन् ।
तर गएराती आएको हावाहुरी र असिनापानीले सुगन्ध कोकिलाको भर्खर लागेको फल झारेपछि किसान निराश भएका छन् । परबिर पुनले मात्रै यसवर्ष सुगन्ध कोकिला बिक्रि गरेर ३ लाख बढी आम्दानी गर्नुभएको थियो । यस्तै अर्का किसान तिलक वलीले यसवर्ष करिब ७ लाखको सुगन्ध कोकिला बिक्रि गर्नुभएको थियो ।
मूख्य आम्दानीको स्रोत सुगन्ध कोकिलाको फल गएरातीको हावाहुरी र असिनापानीले झारीदिएपछि किसान निराश हुनपरेको पुनले बताउनुभयो । हावाहुरीले अन्य फलफूल तथा पाक्नै लागेको गहुँ, जौँ लगायतका बालिमा पनि क्षति गरेको छ । यस्तै मन्दिर परिसरमा पनि हावाहुरीले क्षति गरेको पुनले बताउनुभयो ।
यस्तै गएराती वर्षासंगै आएको हावाहुरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारी निवासी नरसिं वलीको घरको छानो नै उडाएको छ ।

स्थानीय रेशम बुढाथोकी अनुसार घर भर्खर निर्माण गरेको हुँदा कोहि नभएकाले मानविय क्षति भने भएको छैन् । गएराती पानीसंगै ठुलो हावाहुरी चलेको थियो । हावाहुरीले गरेको क्षति बिवरण आउने क्रम बाँकी छ ।
हावाहुरीले किसानले तरकारी उत्पादनका लागि बनाएको टनेलदेखि घरमा समेत क्षति गरेको अनुमान गरिएको छ ।