दाङ, लामो समयदेखि अलपत्र रहेको तुलसीपुरको पिपलबोटदेखि आलुमण्डी हुँदै रानीजरुवा जोड्ने सडकको सुधारको माग गर्दै स्थानीय युवाहरूले आज प्रतीकात्मक आन्दोलन गरेका छन् ।
आज दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा सडक बन्द गर्दै पिपलबोटमा स्थानीय युवाहरूले सडकको बीचमा केराको बोट रोपेर शान्तिपूर्ण तरिकाले विरोध जनाएका हुन् । उनीहरूले हाम्रो बाटो, हाम्रो अधिकार, वर्षा आयो हिलो, घाम लाग्यो धुलो, जनता बिरामी, नेता कति हरामी जस्ता नारा लगाउँदै नेताहरूको उदासीनतामाथि आक्रोश पोखेका थिए ।
तुलसीपुर–५ प्रगतिशील टोल विकास संस्थाका पवित्रा बुढाथोकीले बाटो बन्ने आशामा दुई वर्षअघि घर भत्काएर बाटो चौडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यसबेला बाटो राम्रो हुन्छ भनेर हामीले घर भत्कायौं, तर आजसम्म बाटो बनेको छैन ।’ नागरीकको घर भत्कायर विचल्ली मात्रै पारेको उहाँको भनाई छ । आफुहरुले जितायर पठाएको नगरप्रमुखले कुरा नसुनेपछि आज आन्दोलनमा आएको उहाँले गुनासो गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरुले बाटो बनाउने आश्वासन मात्रै दिएको र नागरीकहरु बाटो बन्ने पर्खाइमा बसेको उहाँको भनाई छ ।

आलुमण्डी नजिकै पसल सञ्चालन गर्दै आएका अम्बिका भण्डारीले धुलोका कारण आफ्नो व्यापार र स्वास्थ्यमा असर परेको गुनासो गर्नुभयो । नाला बनेको दुई वर्ष भइसक्दा पनि बाटो अझै पनि पिच हुन नसकेको उहाँको भनाई छ । स्थानीय नागरीकको समस्या समाधान गर्ने निकाय नै मौन बस्दा समस्याको समाधान हुन नसकेको बताउनुभयो । आफुहरुले जितायर पठाएको नेताहरु कुर्सीमा बसेर मिनिरल बोट्टलको पानि खाने नागरीहरु धुलो खायर बस्नुपरेको उहाँको भनाई छ । नागरीकको स्वास्थ्यमाथी खेलवाड भएको उहाँले बताउनुभयो ।

बाटो बनाउ अभियान संघर्ष समितिका सदस्य वर्षात ओलीले बाटो निर्माणको लागी वडा सरकार, पालिका सरकार, प्रदेश सरकार तथा विभिन्न नेताहरुसम्म कुरा राख्न पनि सुनुवाइ नभएको बताउनुभयो । नागरहिरुको समस्यामा कुनै सरकारले चासो नदिएपछि आज आन्दोलन गर्नुपरेको उहाँको भनाई छ ।
सडक निर्माण थालेको तीन वर्षसम्म पनि कुनै प्रगति नभएपछि विरोध गरेको संघर्ष समितिका संयोजक दिपक काफ्लेले बताउनुभयो । सडक प्रयोग गर्न लायक नभएकाले केरा रोपेर सांकेतिक विरोध गरेको काफ्लेले बताउनुभयो । नेताहरूले देख्न सकिने विकास नगरेका कारण कालो पट्टी बाँधेर युवाहरु सडकमा हिँड्नुका साथै एक घण्टा चक्काजाम गरेका थिए ।
पिपलबोट–रानीजरूवा ८ सय मिटर सडक लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि निर्माण सुरु गरे पनि त्यसपछि निरन्तरता पाउन सकेको छैन । राजनीतिक दलका नेताहरू एकले अर्कोलाई दोषारोपण गर्दै पन्छिन थालेपछि आन्दोलन गर्न बाध्य भएको काफ्लेले बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केही समयअघि सडक कालोपत्रेको काम सुरु हुन्छ भनेपछि स्थानीयहरु खुसी भएका थिए तर सरकार फेरबदलका कारण बाटो निर्माणको काम चपेटामा परेको उहाँको भनाई छ ।

बटो पिचको लागि स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय र जनप्रतिनिधिहरूले आश्वासन बाहेक कुनै ठोस काम गर्न सकेका छैनन् । अव स्थानीय सरकार र नेताहरु तदारुकता साथ लाग्नुपर्ने उहाँको भनाई छ । आज शान्तीपूर्ण आन्दोलन गरेको र आगामी दिनमा पनि सुनुवाइ नभएपछि युवा र स्थानीयहरु मिलेर आन्दोलनको कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो ।











