
मकवानपुर । मकवानपुरमा भएको सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १ बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।
दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।